images
images
  • राष्ट्र बैंकले ३० अर्बको निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्दै

    काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।

    केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

    बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिनेछ । यसको साँवा तथा ब्याज आगामी असोज ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन् । बोल गरिएको रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ ।

    कम ब्याजदरलाई पहिलो प्राथमिकता

    निक्षेप सङ्कलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ ।

    त्यसपछि क्रमशः बढी ब्याजदर उल्लेख भएका बोलपत्रबाट आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ ।

    समान ब्याजदरमा परेको बोलपत्रबाट कुल निष्कासन रकमभन्दा बढी माग भएमा उपलब्ध रकमलाई अनुपातका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

    तीन वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

    बोलकबोलमा सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

    स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप सङ्कलन गरिनेछ ।

    सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    भुक्तानीको मितिमा निर्धारित ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।

    राष्ट्र बैंकका अनुसार यसरी सङ्कलित निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन ।

    तर नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातबाहेकको वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।

    सङ्कलित निक्षेप रकम भुक्तानी मितिभन्दा अघि सम्बन्धित बोलवालालाई फिर्ता गर्न वा समयअगावै भुक्तानी गर्न पाइने छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images