काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले २५औँ वार्षिक साधारण सभा असोज २८ गते बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो ।
बैंकका अनुसार साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक अवधिका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
बुकक्लोज असोज १६ गते
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन शेयर दाखिला खारेज अर्थात् बुकक्लोज गर्ने भएको छ ।
यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ ।


विश्व खबर 



















