काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढीमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले असोज ५ गते शाखा कार्यालयसँगै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको उद्घाटन गरेको जनाएको छ । सोही भवनबाट बैंकको सुदूरपश्चिम प्रदेश प्रादेशिक कार्यालयसमेत सञ्चालन हुने भएको छ ।
शाखा विस्तारसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ ।
अध्यक्ष वैद्य र उद्योग वाणिज्य संघका अध्यक्ष ओझाले गरे उद्घाटन
नयाँ शाखा तथा भवनको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको सहभागिता थियो ।
आर्थिक गतिविधि बढ्ने बैंकको विश्वास
धनगढीको क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने बैंकले जनाएको छ ।
बैंकले शाखा विस्तारसँगै स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढ्नुका साथै समग्र आर्थिक विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एभरेष्ट बैंकले शाखा विस्तारमार्फत ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने रणनीतिअनुसार सेवा विस्तार गर्दै आएको जनाएको छ ।


विश्व खबर 



















