काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि विवादमा परेका बस चालकले आफ्नै बसमा आगो लगाएका छन् ।
सोमबार बिहान त्रिपुरेश्वर चोकमा बा ५ ख ४२७४ नम्बरको बसलाई ट्राफिक प्रहरीले हर्न बजाएको भन्दै रोकेर ब्लुबुक र लाइसेन्स मागेको थियो ।
चालक अर्जुन दोङले आफूले हर्न नबजाएको भन्दै कागजात दिन अस्वीकार गरेपछि विवाद भएको थियो ।
विवादपछि बस छाडेर हिँडेका दोङ करिब १२ः३५ बजे पुनः बस रोकिएको स्थानमा पुगे ।
उनले प्रज्वलनशील पदार्थ छर्किएर बसमा आगो लगाए ।
आगलागी हुँदा उनी बसभित्रै थिए ।
करिब २० मिनेटपछि उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।
उनको हिजो राति नै निधन भएको छ ।
घटनापछि यातायात व्यवसायीहरूले ट्राफिक प्रहरीको कारबाहीबारे छानबिन गर्न माग गरेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ ।
समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
काठमाडौंका एसएसपी दिलीप घिमिरेले चालक र ट्राफिक प्रहरीबीच विवाद भएको देखिएको भन्दै घटनाबारे थप अध्ययन हुने बताएका छन् ।


विश्व खबर 



















