काठमाडौं – प्रभु बैंक लिमिटेडले विदेशमा रोजगारी तथा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।
बैंकका अनुसार योजनामार्फत विदेशमा रहेका नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
बैंकले विप्रेषणमार्फत नेपाल भित्रिने रकमलाई बैंकिङ प्रणालीमा परिचालन गर्दै प्रवासी नेपालीका दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ ।
३ करोडसम्म घर कर्जा
योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ ।
बैंकका अनुसार घर कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ भने ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ ।
यो सुविधा देशभर रहेका बैंकका ३०० शाखामार्फत उपलब्ध हुने जनाइएको छ ।
घर तथा जग्गा खरिददेखि निर्माणसम्म कर्जा
योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा उपलब्ध गराइनेछ ।
विदेशमा रहेका नेपालीले आफ्नो तथा परिवारको आवासीय आवश्यकताका लागि आवश्यक वित्तीय स्रोत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सन्तानको अध्ययनका लागि पनि कर्जा
योजनामा प्रवासी नेपालीका बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जाको व्यवस्था गरिएको छ ।
शैक्षिक कर्जाको ब्याजदर औसत आधार दरमा थप १ प्रतिशत वार्षिक कायम गरिएको छ। कर्जा प्रशासनिक शुल्कमा भने ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
पहिलो वर्ष विद्युतीय बैंकिङ सेवा निःशुल्क
योजनाअन्तर्गत पहिलो वर्षका लागि डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकका अनुसार योजनाले विदेशमा रहेका नेपालीलाई आवासीय सम्पत्ति निर्माण तथा खरिदका लागि वित्तीय पहुँच सहज बनाउनुका साथै नेपालमा औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रभु बैंकले प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई निक्षेप तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्दै दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने लक्ष्यसमेत राखेको जनाएको छ ।


विश्व खबर 



















