images
images
  • नयाँ डिजाइनको ५० रुपैयाँ दरका नोट आजदेखि चलनचल्तीमा, नयाँ विशेषताको नोट आएपछि पुरानो के हुन्छ ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गरी ‘२०२५ सिरिज’ अन्तर्गतका नयाँ ५० रुपैयाँका नोट आज (असोज २ गते) देखि चलनचल्तीमा ल्याइएको हो ।

    आकार र रङ्ग यसअघि प्रचलनमा रहेको ५० रुपैयाँकै नोटसरह रहने नयाँ नोटको सङ्केत नं. ट/२४ ०००००१ देखि ण/३० ९९९९९९ सम्म रहेको छ ।

    नोटको अग्रभागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ ५० तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ ।

    अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापको मुनि ‘५०’ अङ्कित गरिएको छ भने तल्लो भागमा ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।

    नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ । प्रकाशतर्फबाट हेर्दा उक्त सुरक्षा धागो पूर्ण रूपमा देखिनुका साथै त्यसमा ‘एनआरबी’ लेखिएको हुन्छ ।

    नोटको पृष्ठभागको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । पृष्ठभागको तल्लो भागमा ‘रुपिज फिप्टी’ तथा ‘२०२५ ए.डी.’ उल्लेख गरिएको छ ।

    पुरानो ५० रुपैयाँको नोट पनि चलनचल्तीमै

    राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि चलनचल्तीमा ल्याएको ५० रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटसम्बन्धी विवरणसमेत स्पष्ट पारेको छ ।

    यसअघि उक्त नोटको सङ्केत नं. ज/५९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्म भनिएकोमा वास्तवमा ज/५९ ०००००१ देखि ट/३३ ९००००० सम्मका नोट मात्र बजारमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

    नयाँ डिजाइनको नोट बजारमा आए पनि यसबाट पुराना नोट तत्काल अमान्य हुने भन्ने होइन । राष्ट्र बैंकले जारी गरेका चलनचल्तीका बैंकनोटहरू सम्बन्धित निर्णयअनुसार नै प्रयोगमा रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images