images
images
  • यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

    काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको जनाएको हो ।

    समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या छैन ।

    यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुँदैछ । त्यस दिन धनत्रयोदशी (धनतेरस) पर्व परेको छ । कात्तिक २१ गते शनिबार काग तिहार परेको छ । धन्वन्तरी जयन्ती पनि यसै दिन परेको छ । कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

    दिउँसो कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्नेछ । लक्ष्मीपूजा पनि यसै दिन गरिन्छ ।

    गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक २४ गते मंगलबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

    नेपाल संवत्को नयाँ वर्ष ११४७ पनि यसै दिन सुरु हुन्छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन रहेको छ ।

    शास्त्रीय विधि अनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक २५ गते बुधबार नै मनाइन्छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले कात्तिक २५ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिले जोड दिएको छ ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images