काठमाडौ– दुई महिनाअघि विश्वखबर डटकममा प्रकाशित ‘समस्याग्रस्त सहकारीको जग्गा लिलाममै प्रश्न, कागजमा १४ आना ३ पैसा फिल्डमा खोला’ शीर्षकको समाचारप्रति समस्याग्रस्त सहकारी ब्याबस्थापन समितिले गरेकाे खण्डनमाहाम्रो ध्यानाकर्षण भएको छ।
उक्त समाचार प्रकाशन गर्नुको हाम्रो मूल उद्देश्य समस्याग्रस्त सहकारीको सम्पत्ति संरक्षण गर्नु र बचतकर्ताको रकम तथा हकहितमा कसैले अनुचित लाभ लिन वा सम्पत्ति हिनामिना गर्न नसकोस् भन्ने सुनिश्चितताका लागि सम्बन्धित विषयमा सार्वजनिक चासो र निगरानी बढाउनु थियो।
समाचारमा नापी कार्यालयको नक्सा र स्थलगत अवस्थाबीच देखिएको भिन्नता, जग्गाको कित्ता नम्बर तथा लिलाम प्रक्रियासँग सम्बन्धित प्रश्नहरू उठाइएका थिए। यस विषयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षले समेत नक्सा र फिल्डको अवस्थाबीचको भिन्नताबारे आफूले भर्खरै जानकारी पाएको र यस विषयमा थप छानबिन गरिने सार्वजनिक धारणा व्यक्त गर्नुभएको थियो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको भूमिका बचतकर्ताको हित संरक्षण तथा सहकारीको सम्पत्ति व्यवस्थापनमा महत्वपूर्ण रहेको तथ्यलाई हामीले समाचारमै उल्लेख गरेका छौँ। उक्त समाचारको आशय समितिका अध्यक्ष वा सदस्यहरूको व्यक्तिगत भूमिका, नियत वा कार्यक्षमतामाथि प्रश्न उठाउनु थिएन। न त अध्यक्ष तथा सदस्यहरूलाई कुनै आरोप लगाउनु हाम्रो उद्देश्य थियो।
हाम्रो उद्देश्य सार्वजनिक सम्पत्तिको संरक्षण, बचतकर्ताको हित र सम्पत्ति व्यवस्थापन प्रक्रियामा पारदर्शिता तथा जवाफदेहिता कायम होस् भन्ने नै थियो। यद्यपि, समाचारको प्रस्तुति वा शब्द चयनका कारण समितिका अध्यक्ष तथा सदस्यहरूलाई व्यक्तिगत वा संस्थागत रूपमा मर्का पर्न गएको भए त्यसप्रति हामी क्षमाप्रार्थी छौँ।
विश्वखबर सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने र सम्बन्धित निकायलाई जवाफदेही बनाउने पत्रकारिताप्रति प्रतिबद्ध छ। आगामी दिनमा यस्ता संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा तथ्य, भाषा र प्रस्तुतिमा थप संवेदनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
सम्पादक
विश्वखबर डटकम






















