काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट एकाइ खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कर्मा रेसिडेन्सिजबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ ।
यस सहकार्यबाट कर्मा रेसिडेन्सिजको आवासीय परियोजनामा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने आशा गरिएको छ ।
बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता, ऋण मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ ।
मुक्तिनाथ विकास बैंकले आवास कर्जासहित सवारीसाधन, कृषि तथा साना तथा मझौला उद्यमलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ ।


विश्व खबर 



















