काठमाडौं– नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन मूल्य फेरि बढाएको छ । संघले एक्सल र ठूलो अन्डाको समर्थन मूल्य बढाउँदै नयाँ मूल्य ७ असोजदेखि लागू हुने जनाएको छ ।
नयाँ मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अन्डाको प्रतिक्रेट ६०० रुपैयाँ तोकिएको छ । यसअघि १९ भदौमा निर्धारण गरिएको समर्थन मूल्यमा एक्सल अन्डाको प्रतिक्रेट ६०० रुपैयाँ र ठूलो अन्डाको ५९० रुपैयाँ थियो ।
संघका अनुसार काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकमार्फत देशभरका अन्डा उत्पादकबीच छलफल गरी नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो ।
मिडियम र सानो अन्डाको मूल्य यथावत्
संघले मिडियम र सानो अन्डाको समर्थन मूल्य भने परिवर्तन गरेको छैन। यसअघि कायम गरिएको मूल्यअनुसार मिडियम अन्डाको प्रतिक्रेट ५५० रुपैयाँ रहेको छ ।
त्यस्तै, सानो अन्डाको समर्थन मूल्य पेटीको ३ हजार २०० रुपैयाँ कायम गरिएको छ ।
उपभोक्ताका लागि अन्डाको मूल्य पनि तत्काल परिवर्तन गरिएको छैन। संघले प्रतिगोटा अन्डाको उपभोक्ता मूल्य २५ रुपैयाँ तथा दुईवटाको ४५ रुपैयाँ तोकेको छ ।
एक्सल र ठूलो अन्डाको समर्थन मूल्य बढाइए पनि अन्य श्रेणीका अन्डाको मूल्य यथावत् राखिएको संघले जनाएको छ ।


विश्व खबर 



















