काठमाडौं– माथागढी गाउँपालिका–ओलेसका किसानका लागि स्थानीय जातको सानो दानाको कालो भट्ट कुनै समय खाद्यान्नको स्रोत मात्रै थिएन, घरखर्च चलाउने आम्दानीको भरपर्दो माध्यम पनि थियो ।
मकैसँगै बारीमा भट्ट लगाउने, उत्पादन बिक्री गर्ने र त्यसबाट आएको आम्दानीले वर्षभरिका लागि चामलको जोहो गर्ने यहाँको पुरानो चलन थियो ।
ओलेसका ६० भन्दा बढी घरपरिवारले वर्षेनी भट्टको बीउ जोगाएर अर्को वर्ष बारीमा लगाउँदै आएका थिए । तर पुस्तौँदेखि गाउँमै संरक्षण हुँदै आएको स्थानीय कालो भट्ट अहिले बीउसमेत पाउन मुस्किल पर्ने अवस्थामा पुगेको छ ।
स्थानीय किसान वीरबहादुर सारुका अनुसार चार वर्षयता भट्टमा किराको प्रकोप बढेपछि स्थानीय जातको उत्पादन घट्दै गएको हो ।
“मकैसँगै भट्ट लगाउने चलन हाम्रा बाजेका पालादेखि चलिआएको थियो,” सारुले भने, “एक्कासि किराको प्रकोप भयो । बोटमा दाना नै लागेन । स्थानीय पहिचान बनेको सानो दानाको कालो भट्टको बीउ गाउँबाटै हरायो ।”
उनका अनुसार अहिले किसान बजारबाट ल्याइने उन्नत जातको बीउमा निर्भर हुन थालेका छन् । “स्थानीय जातको नाममा यही मात्र बाँकी थियो, अब त्यो पनि हरायो,” उनले भने ।
मासको बीउ पनि हराउँदै
गोठादीका पुराना कृषक प्रतीक थापाको सम्झनामा खेतका आलीमा लगाइने मासको खेती अझै ताजा छ । किसानले खेतका आलीमा मास लगाउने, उत्पादन बिक्री गर्ने र त्यसबाट आएको आम्दानीले जाडोका लागि लत्ताकपडा किन्ने गरेका थिए ।
तर करिब पाँच वर्षअघि मासको दानामा किराको प्रकोप देखिएपछि बिस्तारै यसको खेती घट्दै गयो। यस वर्ष बीउसमेत नहुँदा मास लगाउन नपाएको थापाले बताए ।
“किराले अभियानकै रूपमा आक्रमण गरेजस्तो भयो,” थापाले भने, “किरा नियन्त्रणका लागि विभिन्न उपाय अपनायौँ, तर सफल भएनौँ ।”
उनका अनुसार मासको खेती जोगाउन सके यसपटक गाउँमा लाखौँ रुपैयाँ आम्दानी भित्रिन सक्थ्यो । “किरा नलागेको भए यसपटक गाउँमा दुई–चार लाख रुपैयाँ भित्रिन्थ्यो होला,” उनले भने, “किरा किन लाग्यो भन्ने कुरा पत्ता लगाउनै सकिए ।”


विश्व खबर 



















