images
images
  • बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि उबरले ५० लाख सहयोग गर्ने

    काठमाडौं – नेपालभर बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    उबरले नेपाल रेडक्रससँगको साझेदारीमा बाढी प्रभावितका लागि आपत्कालीन सामग्री, अस्थायी आवास तथा पुनरुत्थानसम्बन्धी सहयोगमा उक्त रकम उपलब्ध गराउने जनाएको हो ।

    नेपाल रेडक्रसले आफ्नो विपद् व्यवस्थापनसम्बन्धी सञ्जाल र अनुभवमार्फत सहयोग वास्तविक आवश्यकता भएका प्रभावित समुदायसम्म पुर्‍याउने उबरले जनाएको छ ।

    यसका अतिरिक्त उबरले आफ्नो प्लेटफर्ममार्फत हुने प्रत्येक यात्राबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत योगदान गर्ने भएको छ ।

    उबर बाइकको प्रत्येक यात्राबाट १० रुपैयाँ र उबर क्याबको प्रत्येक यात्राबाट २० रुपैयाँ राहत कोषमा योगदान गरिने कम्पनीले जनाएको छ ।

    उबरका रणनीतिक साझेदार तथा फ्लिट साझेदारहरूले समेत देशभर भइरहेका बाढी राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने जनाइएको छ ।

    उबर इन्डिया तथा दक्षिण एसियाकी इन्टरनेसनल मार्केट्स प्रमुख आकाङ्क्षा सिंहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा प्रभावित समुदायको राहत र पुनर्स्थापनामा सहयोग गर्नु आफ्नो जिम्मेवारी भएको बताइन् ।

    उबरले आफ्नो यातायात तथा गतिशीलता सञ्जाल र स्रोतसाधनलाई राहत कार्यमा परिचालन गर्दै प्रभावित समुदायलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images