काठमाडौं – असोज ८ गते बिहीबार दुई कम्पनी तथा तीन सामूहिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक, कालिञ्चोक दर्शन तथा आरबिबि म्युचुअल फण्ड १, आरबिबि म्युचुअल फण्ड २ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यीमध्ये कालिञ्चोक दर्शनले असोज ९ गते तथा माछापुच्छ्रे बैंक, आरबिबि म्युचुअल फण्ड १, आरबिबि म्युचुअल फण्ड २ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते शेयर तथा इकाईधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।
त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनी तथा इकाईधनीले सम्बन्धित कम्पनी तथा योजनाको लाभांश प्राप्त गर्नेछन् ।
कालिञ्चोक दर्शनले ८ दशमलव ५ प्रतिशत बोनस दिने
कालिञ्चोक दर्शनले असोज १६ गते शुक्रबार मध्यपुर ठिमीको जर्मन होम्स होटलमा बाह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ८ दशमलव ५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत बराबर हुने गरी ६८ लाख ३५ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावमाथि निर्णय गर्नेछ।
माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने
माछापुच्छ्रे बैंकले असोज २८ गते बुधबार पोखराको होटल पोखरा ग्राण्डमा २८औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, अग्राधिकार शेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयरको ८ दशमलव २५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहका शेयरधनीको तर्फबाट तीन जना र सर्वसाधारण समूहका शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने तथा स्वतन्त्र सञ्चालकमा चार वर्षका लागि अर्जुनकुमार गौतम नियुक्त भएको जानकारी गराउने प्रस्तावमाथि पनि निर्णय गर्नेछ ।
तीन सामूहिक लगानी कोषको लाभांश
आरबिबि म्युचुअल फण्ड १ ले इकाईधनीलाई करसहित २ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
आरबिबि म्युचुअल फण्ड २ ले करसहित ६ प्रतिशत नगद लाभांश दिनेछ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
लाभांश प्राप्त गर्न आजसम्म सम्बन्धित कम्पनी तथा योजनाको शेयर वा इकाईधनी कायम भइसक्नुपर्नेछ। त्यसपछि दर्ता पुस्तिका बन्द हुने भएकाले बन्द हुने मितिपछि शेयर वा इकाई खरिद गर्नेले यसपटकको घोषित लाभांश प्राप्त गर्ने छैनन् ।


विश्व खबर 


















