images
images
  • दुई महिनामै बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो, ग्लोबल आइएमईको अग्रता

    काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी उल्लेख्य रूपमा बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असार मसान्तदेखि भदौ मसान्तसम्म ६० अर्ब ९७ करोड रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् ।

    असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

    साउनमा घटेको कर्जा भदौमा तीव्र विस्तार

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने बैंकहरूको कर्जा विस्तार सुस्त देखिएको थियो । असारको तुलनामा साउनमा कुल कर्जा १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा झरेको थियो ।

    तर भदौमा कर्जा मागमा तीव्र सुधार देखिएको छ । भदौ महिनामा मात्रै वाणिज्य बैंकहरूले ६२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसले समग्र दुई महिनाको कर्जा विस्तारलाई सकारात्मक बनाएको हो ।

    ग्लोबल आइएमईले बढायो २० अर्ब कर्जा

    दुई महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा विस्तार गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस अवधिमा २० अर्ब १ करोड रुपैयाँले कर्जा लगानी बढाएको छ ।

    एभरेष्ट बैंकले १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेको छ ।

    त्यस्तै, कुमारी बैंकले ७ अर्ब ६५ करोड, नबिल बैंकले ७ अर्ब ६ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकले ४ अर्ब ७४ करोड र एनएमबि बैंकले ४ अर्ब २९ करोड रुपैयाँले कर्जा लगानी बढाएका छन् ।

    कुल कर्जामा ग्लोबल आइएमई र नबिलबीच प्रतिस्पर्धा

    कुल कर्जा लगानीको आकारमा ग्लोबल आइएमई बैंक र नबिल बैंकबीच पनि प्रतिस्पर्धा देखिएको छ । भदौ मसान्तसम्म ग्लोबल आइएमई बैंकको कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

    नबिल बैंकको कुल कर्जा लगानी ४ खर्ब ९५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यससँगै कुल कर्जाको आकारमा ग्लोबल आइएमई बैंक नबिलभन्दा करिब १ अर्ब ८१ करोड रुपैयाँले अगाडि देखिएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल कर्जा ३ खर्ब ५९ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ४९ अर्ब ७१ करोड र लक्ष्मी सनराइज बैंकको ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

    सात बैंकको कर्जा भने घट्यो

    समग्र बैंकिङ प्रणालीमा कर्जा विस्तार भए पनि दुई महिनाको अवधिमा सात बैंकको कर्जा लगानी घटेको छ ।

    सबैभन्दा धेरै कर्जा घट्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

    सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानीमा पनि सामान्य कमी आएको छ ।

    चाडपर्वसँगै बढ्यो कर्जाको माग

    चाडपर्व नजिकिँदै जाँदा बजारमा सवारी साधन तथा उपभोग्य वस्तुको आयात र व्यापारिक गतिविधि बढेका कारण कर्जाको मागमा सुधार आएको बैंकरहरूको बुझाइ छ ।

    त्यसैगरी, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरूले आधार दरसँगै कर्जाको ब्याजदर घटाउँदै आएका छन् । तुलनात्मक रूपमा सस्तो ब्याजदर र बढ्दो व्यावसायिक गतिविधिका कारण आगामी महिनामा पनि कर्जा विस्तार बढ्ने अपेक्षा बैंकिङ क्षेत्रको छ ।

    यससँगै लामो समयदेखि सुस्त रहेको कर्जा मागमा पछिल्लो समय देखिएको सुधारले बैंकिङ प्रणालीमा कर्जा विस्तार क्रमशः गति लिन थालेको संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images