images
images
  • अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले फेरि खिच्दैछ २० अर्ब

    काठमाडौं – बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले आज असोज ८ गते २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ । बैंक तथा वित्तीय संस्थाले आफूले प्रस्ताव गर्ने ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् ।

    यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोल आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ ।

    निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ । कुल आह्वान रकम अर्थात् २० अर्ब रुपैयाँसम्म मात्र बोलकबोल गर्न सकिनेछ ।

    राष्ट्र बैंकले ३२ दिने अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो । यसअनुसार संकलित रकमको साँवा तथा ब्याज कात्तिक ९ गते सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरिनेछ ।

    बैंकिङ प्रणालीमा कर्जा मागको तुलनामा निक्षेप तथा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत अतिरिक्त तरलता खिच्दै आएको छ । यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गरी ब्याजदर तथा मौद्रिक व्यवस्थापनमा सन्तुलन कायम गर्ने केन्द्रीय बैंकको उद्देश्य हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images