images
images
  • मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा ८० प्रतिशतसम्म कर्जा

    काठमाडौं – मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।

    सम्झौतामा मुक्तिनाथ विकास बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखेर डिलरको बिल वा बीजक मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ ।

    त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको बीजक मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिनेछ। यस्तो कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुर्‍याउँदै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको हो । यस सहकार्यबाट निर्माण उपकरण खरिद गर्न चाहने ग्राहकलाई कर्जा प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ ।

    मुक्तिनाथ विकास बैंकले आवास, सवारी, कृषि तथा साना तथा मझौला उद्यमलगायत विभिन्न क्षेत्रमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

    बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक उपकरण खरिदका लागि वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images