images
images
  • मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं – मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको दोस्रो सामूहिक लगानी कोष योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीले असोज १ गतेदेखि उक्त योजनाको इकाई बिक्री खुला गरेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिएको छ ।

    कुल निष्कासन इकाईमध्ये बिक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात् एक करोड ३० लाख इकाई योजना प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ । त्यस्तै, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

    लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

    बिक्री खुला भएको अवधि तथा थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् पाँच करोड इकाई खरिदका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ । तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी आवेदनकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ ।

    योजना १० वर्ष अवधिको बन्दमुखी सामूहिक लगानी कोष योजना हो । योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा प्रणाली सञ्चालनको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरको वेबसाइट तथा मोबाइल अनुप्रयोगमार्फत आजसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images