images
images
  • कारबाहीमा परेका दुई लघुवित्तको सेयरमा अस्वाभाविक उतारचढाव, लाभांशमा पनि प्रश्न

    काठमाडौं– बुधबार फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा अस्वाभाविक उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेका यी दुई लघुवित्तको सेयरमा बजार बन्द हुनुअघि तीव्र उतारचढाव देखिएपछि लगानीकर्ताको ध्यान तानिएको हो ।

    बुधबार फर्वार्ड माइक्रोफाइनान्सको सेयर मूल्य २.१९ प्रतिशत घटेर ८९३ रुपैयाँमा बन्द भएको छ । ९०४ रुपैयाँबाट कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य केही समयमै घटे पनि पुनः बढेर ९०५ रुपैयाँसम्म पुगेको थियो । तर अन्तिम समयमा उक्त वृद्धि टिक्न सकेन र बजार बन्द हुँदा मूल्य ८९३ रुपैयाँमा झरेको हो ।

    धौलागिरि लघुवित्तको सेयरमा भने उल्टो दृश्य देखियो । अघिल्लो दिनको तुलनामा १५ प्रतिशत बढेर १ हजार ३४१ रुपैयाँमा कारोबार बन्द भएको छ । १ हजार १०९ रुपैयाँबाट कारोबार सुरु भएको यसको मूल्य कारोबारका क्रममा अघिल्लो दिनको तुलनामा ७।८० प्रतिशतसम्म घटेको थियो ।

    तर बजार बन्द हुनुअघि भएका अन्तिम दुई कारोबारमा मूल्य एक्कासि बढेको देखिएको छ । ती कारोबारमा ३० कित्ताभन्दा कम परिमाणमा सेयर कारोबार भएको थियो ।

    पुँजीकोष कमजोर भएपछि राष्ट्र बैंकको कारबाही

    यी दुई कम्पनीमा देखिएको उतारचढावलाई राष्ट्र बैंकले गरेको शीघ्र सुधारात्मक कारबाहीसँग जोडेर हेरिएको छ । दुवै लघुवित्तले नियामकीय व्यवस्थाअनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।

    २०८२ असार मसान्तमा फर्वार्ड माइक्रोफाइनान्सको पुँजीकोष अनुपात ६.१२ प्रतिशत थियो । सोही अवधिमा धौलागिरि लघुवित्तको पुँजीकोष अनुपात ६.३८ प्रतिशत थियो ।

    लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष अनुपात ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । यी दुवै कम्पनी तोकिएको सीमाभन्दा तल गएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

    एक वर्षपछि मात्रै किन भयो कारबाही

    दुवै कम्पनीको पुँजीकोष अनुपात २०८२ असारमै तोकिएको सीमाभन्दा तल देखिए पनि राष्ट्र बैंकले करिब एक वर्षपछि मात्रै कारबाही गरेको छ । २०८३ वैशाखमा भएको कारबाहीबारे राष्ट्र बैंकका लघुवित्त विभाग प्रमुख तथा कार्यकारी निर्देशक राजन विक्रम थापाले कम्पनीले सार्वजनिक गर्ने तथ्यांक र राष्ट्र बैंकको अध्ययनका क्रममा देखिने विवरण फरक पर्न सक्ने बताए ।

    उनका अनुसार आवश्यक कागजात माग्ने, अध्ययन गर्ने तथा कम्पनीसँग तथ्यांक प्रमाणीकरण गर्ने प्रक्रियाका कारण कतिपय संस्थामाथि कारबाही हुन समय लाग्न सक्छ ।

    फर्वार्डको पुँजीकोषमा सुधार, तर लाभांशमा अन्योल

    फर्वार्ड माइक्रोफाइनान्सको पुँजीकोष अनुपात पछिल्ला त्रैमासमा उतारचढावपूर्ण देखिएको छ । २०८२ असोजमा ९।२५ प्रतिशत रहेको पुँजीकोष अनुपात २०८२ पुसमा ६.७७ प्रतिशत र चैतमा ७.२७ प्रतिशतमा झरेको थियो ।

    यद्यपि २०८३ असार मसान्तमा कम्पनीले पुँजीकोष अनुपात ९.१७ प्रतिशत पुगेको विवरण सार्वजनिक गरेको छ । यो तोकिएको ८ प्रतिशतको न्यूनतम सीमाभन्दा माथि हो ।

    तर आर्थिक वर्षको बीचमा समेत कम्पनीको पुँजीकोष अनुपात ८ प्रतिशतभन्दा तल झरेको देखिएकाले २०८२–८३ को नाफाबाट लाभांश वितरण गर्न पाउने विषयमा प्रश्न उठेको छ। त्यसमाथि कम्पनीले सार्वजनिक गरेको विवरणमा लाभांश क्षमता पनि ऋणात्मक देखिएको छ ।

    राष्ट्र बैंकको अध्ययनबाट २०८३ असारमा कम्पनीले सार्वजनिक गरेको ९.१७ प्रतिशत पुँजीकोष अनुपात नै पुष्टि भएमा भने फर्वार्डलाई शीघ्र सुधारात्मक कारबाहीबाट बाहिरिने बाटो खुल्न सक्छ ।

    धौलागिरिको अवस्था अझै कमजोर

    धौलागिरि लघुवित्तको पुँजीकोष अवस्था भने फर्वार्डको तुलनामा कमजोर देखिएको छ । २०८२ असोजमा ८.५६ प्रतिशत र पुसमा ९.०८ प्रतिशत रहेको पुँजीकोष अनुपात चैतमा घटेर ७ प्रतिशतमा पुगेको थियो ।

    २०८३ असार मसान्तमा पनि कम्पनीको पुँजीकोष अनुपात ७.५७ प्रतिशत मात्रै रहेको विवरणमा उल्लेख छ । यसअनुसार कम्पनीले तोकिएको ८ प्रतिशतको न्यूनतम पुँजीकोष अनुपात अझै कायम गर्न सकेको छैन ।

    राष्ट्र बैंकको व्यवस्थाअनुसार तोकिएको पुँजीकोष अनुपातभन्दा २५ प्रतिशतसम्म कम भएका संस्थालाई आवश्यक सुधार गर्न लगाउन तथा पुँजी वृद्धि योजना माग गर्न सकिने व्यवस्था छ । धौलागिरिको हकमा ७.५७ प्रतिशत पुँजीकोष अनुपात रहेकाले नियामकीय न्यूनतम सीमाभन्दा तल रहेको छ ।

    लाभांश वितरणमा पनि असर

    शीघ्र सुधारात्मक कारबाहीमा परेका लघुवित्तका लगानीकर्ताका लागि लाभांशको विषय पनि महत्वपूर्ण बनेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारणसभाबाट स्वीकृति लिने समयसम्म कारबाही फुकुवा नभएको अवस्थामा लघुवित्तले नगद लाभांश वा बोनस सेयर घोषणा तथा वितरण गर्न पाउँदैनन् ।

    त्यसैले आर्थिक वर्षको अन्त्यमा मात्रै पुँजीकोष अनुपात सुधार भएको आधारमा लाभांश वितरणको बाटो स्वतः खुल्ने अवस्था हुँदैन । आर्थिक वर्षको कुनै अवधिमा पनि तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको अवस्थाले लाभांश वितरणमा असर पार्न सक्छ ।

    यसरी हेर्दा बुधबार फर्वार्ड र धौलागिरि लघुवित्तको सेयरमा देखिएको उतारचढाव सामान्य बजार गतिविधिमा मात्र सीमित देखिँदैन । दुवै कम्पनीको पुँजीकोष अवस्था, राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही, कारबाहीबाट बाहिरिने सम्भावना तथा लाभांश वितरण क्षमताले समेत लगानीकर्ताको निर्णयलाई प्रभावित गर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images