काठमाडौं-सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउन राति दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि सुरु भएको तनाव मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु तथा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएपछि उत्पन्न परिस्थितिलाई सरकारले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको छ।
पछिल्ला दुई दिनदेखि साम्प्रदायिक तथा समूहगत तनाव बढ्दै गएपछि नेपाल सरकारको सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। बिहीबार बसेको सुरक्षा परिषद्को बैठकपछि मधेश तथा तराईका संवेदनशील जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
धनुषाको जनकपुरधाम आसपासका केही क्षेत्रमा दुई समूहबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको भन्दै सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रदर्शन, ढुंगामुढा र तोडफोडका घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो। कर्फ्यु लागू भएका क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ भने अत्यावश्यक सेवामा संलग्न व्यक्तिलाई मात्र अनुमति दिइएको प्रशासनले जनाएको छ।
सिरहामा पनि अवस्था तनावपूर्ण बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य झडप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सेना किन हाईअलर्टमा ?
नेपाली सेनासम्बद्ध उच्च स्रोतका अनुसार सेना प्रत्यक्ष रूपमा सडकमा उतारिएको छैन, तर आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। संवेदनशील क्षेत्रमा रहेका गण र गुल्मलाई २४ घण्टा उच्च सतर्कतामा राखिएको स्रोतको भनाइ छ।
गृह मन्त्रालयको समन्वयमा प्रदेश तथा जिल्ला सुरक्षा निकायबीच निरन्तर सूचना आदानप्रदान भइरहेको छ। पछिल्ला घटनाक्रमको सूक्ष्म निगरानी बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
सम्भावित थप हिंसा रोक्न द्रुत प्रतिक्रिया योजना तयार गरिएको छ। कुनै नयाँ घटना भए तत्काल सुरक्षाकर्मी परिचालन गरी क्षेत्र नियन्त्रणमा लिने रणनीतिमा सुरक्षा निकाय रहेको स्रोतको दाबी छ।
तराईका १०० भन्दा बढी संवेदनशील स्थानमा सेनालाई उच्च सतर्कतामा राखिएको दाबी गरेको छ। कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा आवश्यक परे थप बल परिचालन गर्न सकिने गरी ब्याकअप व्यवस्था गरिएको स्रोतको भनाइ छ। सेना नजिकका ब्यारेकमा थप बल तयारी अवस्थामा राखिएको, हेलिकप्टरसमेत स्ट्यान्डबाइमा राखिएको तथा विशेष सुरक्षा टोली तयारी अवस्थामा रहेको दाबी गरेका छन्।
सीमावर्ती क्षेत्रमा पनि कडाइ
धनुषा र सिरहा भारतसँग सीमा जोडिएका जिल्ला भएकाले सीमावर्ती नाकामा निगरानी बढाइएको छ। आवागमन, भीडभाड तथा सम्भावित बाह्य प्रभावको मूल्याङ्कन गर्न संयुक्त सुरक्षा गस्ती तीव्र बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
प्रशासनको अपिल
मधेश प्रदेश सरकार र स्थानीय प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न, सामाजिक सञ्जालमा अपुष्ट सामग्री शेयर नगर्न तथा सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेका छन्।
गृह मन्त्रालयले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। विभिन्न राजनीतिक दलका नेताहरूले पनि धार्मिक तथा सामाजिक सद्भाव खल्बलिने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
कर्फ्यु र सुरक्षा कडाइका कारण बजार, विद्यालय, यातायात तथा दैनिक आर्थिक गतिविधि प्रभावित भएका छन्। जनकपुरधामका केही क्षेत्र सुनसान बनेका छन् भने सर्वसाधारण घरभित्र बस्न बाध्य भएका छन्।
नेपाल प्रहरीले भीड नियन्त्रण, गस्ती तथा पक्राउ अभियान तीव्र बनाएको छ भने सशस्त्र प्रहरीले सरकारी कार्यालय, धार्मिक स्थल, संवेदनशील चोक तथा सीमा क्षेत्रको सुरक्षा थप कडा बनाएको जनाएको छ।
सरकारले स्थिति नियन्त्रणमा रहेको दाबी गरे पनि सुरक्षा निकायले आगामी २४ देखि ४८ घण्टा अत्यन्त संवेदनशील रहने मूल्याङ्कन गरेको स्रोतहरूले बताएका छन्। त्यसैले मधेशका प्रभावित जिल्लामा सुरक्षा उपस्थिति अझै केही समय उच्च स्तरमै कायम रहने देखिएको छ।


विश्व खबर 


















