images
images
  • सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि खेलिएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । उनले विरोधी टोलीका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै खेललाई जितमा परिणत गरे । यस्तै, टोलीका लागि ईशान पाण्डेले ३१ बलमा ३७ रन तथा ब्राण्डन म्याकमुलनले १२ बलमा २२ रनको योगदान दिए । पोखराका बलरहरू धनञ्जय लक्सन, शकिब अल हसन र मेहेदी हसनले १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले पोखरालाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रनमा सीमित गरिदिएको थियो । पोखराका लागि अर्जुन घर्तीले २५ बलमा सर्वाधिक ४० रन बनाए भने मेहेदी हसनले २१ बलमा ३२ रन जोडे । अन्य ब्याटरहरूमा कप्तान कुशल भुर्तेलले २१ रन र शकिब अल हसनले १४ रन बनाए ।

    सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिँदै पोखराको इनिङ्स नियन्त्रणमा राखे भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले १–१ विकेट हात पारे ।

    उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images