काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ ।
१ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीको सुरुआत निकै खराब रहेको थियो । ओपनर मार्क वाट १ रनमै आउट भए भने अरिफुल इस्लामले १२ बलमा ३२ रन (३ चौका र ३ छक्का) बनाएर आक्रामक सुरुआत दिलाउने प्रयास गरे । तर, हुसैन तालत खाता नखोली आउट हुनुका साथै दीपक डुम्रे २० रन र अकबर अली १ रनमा आउट भएपछि कर्णाली ५७ रन जोड्दा ५ विकेट गुमाएर निकै दबाबमा परेको थियो ।
त्यस्तो संकटपूर्ण अवस्थामा कप्तान सोमपाल कामी र पवन सर्राफले छैटौँ विकेटका लागि ६६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए । पवनले २८ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३६ रन बनाएर प्रतिश जिसीको बलमा आउट भए ।
पवन आउट भएपछि क्रिजमा आएका गुल्सन झासँग मिलेर कप्तान सोमपाल कामीले सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गर्दै कर्णालीको जित सुनिश्चित गरे । सोमपालले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले २७ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए ।
अर्कोतर्फ गुल्सन झाले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित २८ रन जोडे । अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक भएको अवस्थामा विराटनगरका कप्तान सन्दीप लामिछानेको बलिङमा अन्तिम दुई बलमा २ रन चाहिएको बेला विकेटकिपर लोकेश बमले मिसफिल्ड गरेपछि सोमपाल र गुल्सनले थप १ रन दौडिएर जित दिलाए ।
विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको विष्फोटक पारी खेलेका थिए । १ रन र ४ रनमा जीवनदान पाएका लोकेशलाई १५.५ ओभरमा सोमपाल कामीले आफ्नै बलमा क्याच आउट गराएका थिए ।
विराटनगरका लागि लोकेश र एन्जेलो म्याथ्युजबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो । म्याथ्युजले २३ बलमा ४ चौका प्रहार गर्दै ३१ रन बनाए । त्यस्तै, वेस्ट इन्डिजका आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन जोडेका थिए ।
कर्णालीका लागि कप्तान सोमपाल कामीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित ३३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यसबाहेक मार्क वाट र नन्दन यादवले १–१ विकेट हात पारेका थिए ।
प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको कर्णालीले यसअघि आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । यता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगरले भने लगातार दोस्रो हार व्यहोरेको छ ।





















