images
images
  • विमान उडिरहेकै बेला पाइलटबीच कुटाकुट, हाइज्याकको आशंकापछि साउदीमा अवतरण

    काठमाडौं – यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच कुटाकुट भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांकअनुसार यो घटना स्थानीय समयअनुसार राति करिब १ बजेर २० मिनेटमा भएको थियो । त्यसको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो । घटनापछि विमानलाई साउदी अरेबियातर्फ मोडिएको हो ।

    इजरायली अधिकारीले यो घटना विमान अपहरण नभएको बताएका छन् । उनीहरूका अनुसार विमानभित्रकै कर्मचारीबीच भएको घटनाका रूपमा यसलाई बुझिएको छ । आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो ।

    फ्लाईदुबईको विमान केही समयमै साउदी अरेबियामा अवतरण गर्ने अपेक्षा गरिएको छ । घटनाबारे फ्लाईदुबईको प्रतिक्रिया लिन सीएनएनले सम्पर्क गरेको जनाएको छ ।

    के भएको थियो ?

    विमानले बुधबार बिहान केही समय ‘७५००’ आपत्कालीन कोड प्रसारण गरेपछि विमान अपहरण भएको आशंका उत्पन्न भएको थियो । विमानमा २७ बालबालिकासहित १७४ जना यात्रु सवार थिए ।

    विमान उडानका क्रममा म्यानुअल रूपमा उचाइ घटाउँदै बाटो परिवर्तन गरेर फर्किन थालेपछि विमानबाट ‘७५००’ कोड प्रसारण भएको थियो । अन्तर्राष्ट्रिय उड्डयनमा ‘७५००’ कोड विमान अपहरण वा अन्य गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग हुन्छ । घटनापछि इजरायली लडाकु विमानहरू समेत आकाशमा परिचालन गरिएको थियो ।

    केही समयसम्म इजरायलमा विमानको अवस्थालाई लिएर चिन्ता बढे पनि पछि सुरक्षा अधिकारीहरूले विमान सुरक्षित रहेको जानकारी दिएका थिए । विमानलाई साउदी अरबतर्फ डाइभर्ट गरिएको थियो र अन्ततः साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेको बताइएको छ ।

    विमानभित्र पाइलटहरूबिच विवाद भएपछि स्थिति असामान्य बनेको र त्यस क्रममा आपत्कालीन कोड सक्रिय भएको बताइएको छ । घटनाको थप विवरण र विवादको कारण भने तत्काल सार्वजनिक गरिएको छैन ।

    घटनापछि सावधानीस्वरूप इजरायलको बेन गुरियन विमानस्थलबाट हुने उडानहरू केही समयका लागि रोकिएका थिए । विमानमा भएको घटनाबारे जानकारी पाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आकस्मिक सुरक्षा बैठकसमेत बोलाएका थिए ।

    विमान सुरक्षित रूपमा साउदी अरबमा अवतरण गरेपछि भने प्रारम्भिक रूपमा देखिएको हाइज्याकको आशंका हटेको इजरायली सुरक्षा अधिकारीहरूले बताएका छन् । घटनाबारे सम्बन्धित अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images