काठमाडौं – अर्थ मन्त्रालय मातहतका दुई सहसचिवको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सहसचिव रामकृष्ण पुडासैनी र महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा सहसचिव विष्णुप्रसाद ज्ञवालीको सरुवा गरेको हो ।
पुडासैनीलाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सहसचिवका रूपमा कार्यरत थिए ।
त्यस्तै, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले अन्तरमन्त्रालय तथा विभिन्न निकायमा गरी १७ जना सचिवको सरुवा गरेको थियो ।
अर्थमा नयाँ सहसचिव आएनन्
अर्थ मन्त्रालय मातहतका दुई सहसचिवको सरुवा भए पनि उनीहरूको स्थानमा नयाँ सहसचिव पठाइएको छैन । यससँगै अर्थ मन्त्रालयअन्तर्गत सहसचिवका तीन पद रिक्त भएका छन् ।
अर्थ मन्त्रालयका महत्वपूर्ण जिम्मेवारीमा सहसचिवको संख्या घट्दै गएपछि प्रशासनिक कामकारबाहीमा समेत यसको प्रभाव पर्न सक्ने देखिएको छ ।


विश्व खबर 


















