images
images
  • अमूदी फुड्सको आईपीओ तयारी तीव्र, १० करोडको शेयर निष्कासन हुने

    काठमाडौं – खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले १० करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो ।

    कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूहका लागि र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङसमेत प्राप्त गरेको जनाएको छ ।

    कम्पनीका अनुसार हाल अन्डरराइटरसँग सम्झौता, विवरणपत्र तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित काम अघि बढिरहेको छ ।

    २०८३ मंसिरमा बोर्डमा आवेदन दिने

    कम्पनीले २०८३ मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने लक्ष्य राखेको छ । त्यस्तै, २०८४ जेठसम्म आईपीओ स्वीकृति प्राप्त गर्ने प्रस्तावित कार्यतालिका कम्पनीले सार्वजनिक गरेको छ ।

    यद्यपि, आईपीओ निष्कासनको वास्तविक समय नियामकीय प्रक्रिया तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिमा निर्भर हुने कम्पनीले जनाएको छ ।

    ५० करोड जुटाउने योजना

    व्यवसाय विस्तार तथा कार्यसञ्चालनका लागि अमूदी फुड्सले विभिन्न स्रोतबाट कुल ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ ।

    कम्पनीका अनुसार १९ करोड रुपैयाँ ऋणबाट, १४ करोड रुपैयाँ जग्गा बिक्रीबाट, १० करोड रुपैयाँ आईपीओबाट र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टमार्फत जुटाउने योजना छ ।

    नुडल्सको नयाँ उत्पादन लाइन थप्ने

    कम्पनीले आगामी वर्षहरूमा नुडल्स उत्पादनको नयाँ लाइन थप्नुका साथै नयाँ उत्पादन बजारमा ल्याउने योजना बनाएको छ । नयाँ उत्पादन लाइन सञ्चालनमा आएपछि आर्थिक वर्ष २०८४/८५ देखि आम्दानीमा उल्लेख्य वृद्धि हुने अपेक्षा कम्पनीले गरेको छ ।

    वि.सं. २०६९ मा स्थापना भएको अमूदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ भने उत्पादन कारखाना चितवनको भरतपुरमा छ । कम्पनीमा हाल करिब ११५ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images