काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजारको पूर्वाधार, प्रविधि र बजार व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिमा आफ्नो धारणा राख्दै नेप्से नेतृत्वले बजारको पुनर्संरचना, प्रविधि सुधार र बजार निगरानी प्रणालीलाई सुदृढ बनाउने कामलाई प्राथमिकतामा राखिएको जानकारी दिएको हो ।
नेप्सेका अनुसार धितोपत्र बजारको ट्रेडिङ प्लेटफर्म सञ्चालकका रूपमा इक्विटी, म्युचुअल फन्ड, डिबेन्चर, ओटीसी बजार, मार्जिन कारोबार तथा ‘आफ्टर मार्केट अर्डर’ लगायतका सेवा सञ्चालनमा छन् ।
अनलाइन ट्रेडिङ प्रणालीको स्वामित्व नेप्सेकै
नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) को पूर्ण स्वामित्व नेप्सेकै रहेको स्पष्ट पारेको छ । सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा गरी खरिद गरिएको प्रणालीको सोर्स कोड तथा सञ्चालनसम्बन्धी अधिकार नेप्सेको सम्पत्तिका रूपमा रहेको नेतृत्वले जनाएको छ ।
ब्रोकरहरूलाई प्रणालीमा जोडिन आवश्यक लगइन तथा पासवर्ड उपलब्ध गराइने भएकाले ट्रेड म्यानेजमेन्ट सिस्टम सञ्चालन र त्यससँग सम्बन्धित पूर्वाधार व्यवस्थापनको मुख्य जिम्मेवारी सम्बन्धित ब्रोकरकै हुने नेप्सेले जनाएको छ ।
पछिल्लो समय एक दिन कारोबार रोकिएको घटनाबारे नेप्सेले उक्त समस्या आफ्नो वा एनओटीएसको प्रणालीगत कमजोरीका कारण नभई एक ब्रोकरको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण भएको स्पष्ट पारेको छ ।
यस्ता समस्या दोहोरिन नदिन ब्रोकरहरूसँग छलफल भइरहेको र डेटा सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगरिने नेप्सेले जनाएको छ ।
एआईबाट बजार निगरानी गर्ने तयारी
नेप्सेले बजार निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ ।
हाल नेप्सेले नियमित रूपमा अनसाइट तथा अफसाइट सर्भिलेन्स गर्दै आएको र प्रत्येक त्रैमासमा निगरानीसम्बन्धी प्रतिवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाउने गरेको जनाएको छ ।
सर्भिलेन्सका क्रममा देखिएका विषयमा लगानीकर्ता वा ग्राहकलाई प्रत्यक्ष कारबाही गर्ने कानुनी अधिकार नेप्सेसँग नभएकाले आवश्यक कारबाहीका लागि सम्बन्धित विवरण सेबोनमा पठाउने गरिएको नेप्से नेतृत्वले स्पष्ट पारेको छ ।
प्रविधि तथा बजार निगरानी प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सूचना प्रविधि जनशक्ति थप्ने प्रक्रिया पनि अघि बढाइएको छ । त्यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सुरु भइसकेको नेप्सेले जनाएको छ ।
मंसिरभित्र फ्लोट सेयरमा आधारित सूचकांक
अर्थ मन्त्रालय र सेबोनको निर्देशनअनुसार मंसिर मसान्तभित्र फ्लोट सेयरका आधारमा बेन्चमार्क इन्डेक्स गणना गर्ने काम सम्पन्न गरिने नेप्सेले जनाएको छ ।
धितोपत्र बजारमा नयाँ वित्तीय उपकरण तथा इन्स्ट्रुमेन्ट ल्याउने विषय नीतिगत व्यवस्थासँग जोडिएकाले अर्थ मन्त्रालय र सेबोनबाट प्राप्त नीति तथा निर्देशन कार्यान्वयन गर्न नेप्से प्रतिबद्ध रहेको नेतृत्वले जनाएको छ ।
नेप्सेको पुनर्संरचना अघि बढाउने तयारी
नेप्सेको पुनर्संरचनाका विषयमा विगतमा पटक–पटक अध्ययन तथा प्रतिवेदन बने पनि त्यसअनुसार व्यावहारिक काम अघि बढ्न नसकेको नेप्से नेतृत्वले स्वीकार गरेको छ ।
अब भने नेप्सेको पुनर्संरचना प्रक्रिया अघि बढाउने तयारी गरिएको र त्यसबाट संस्थाको कार्यविधि थप व्यवस्थित तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
पुनर्संरचनापछि नेप्सेको प्रणाली र कार्यप्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन सकिने नेतृत्वको भनाइ छ ।
नेप्सेले लगानीकर्तालाई आफ्नो लगइन तथा पासवर्ड सुरक्षित राख्न आग्रह गरेको छ । साथै, ब्रोकरहरूलाई समेत आफ्ना प्राविधिक तथा डेटा पूर्वाधार थप सुदृढ बनाउन आग्रह गरिएको छ ।


विश्व खबर 



















