images
images
  • शेयर बजारमा लगानीकर्ताको पहुँच विस्तार, डिम्याट खाता ८० लाख नाघ्यो

    काठमाडौं – नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बताएका छन् ।

    संघीय संसद्को अर्थ समिति बैठकमा अध्यक्ष भट्टले प्रस्तुत गरेको विवरणअनुसार देशभर डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख ९५ हजार पुगेको छ ।

    अध्यक्ष भट्टका अनुसार हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय भइसकेका छन् । त्यस्तै, गत आर्थिक वर्षको असारसम्म कारोबार खाता अर्थात् ट्रेडिङ खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

    पछिल्लो तथ्याङ्कले धितोपत्र बजारमा लगानीकर्ताको पहुँच विस्तार हुँदै गएको देखाएको बोर्डले जनाएको छ ।

    प्राथमिक शेयरको हिस्सा ठूलो

    अध्यक्ष भट्टले नेपालको धितोपत्र बजारमा प्राथमिक शेयरको वर्चस्व कायमै रहेको बताएका छन् ।

    उनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार संगठित संस्थाले संकलन गरेको पुँजीमध्ये साधारण शेयरको हिस्सा ४६.२६ प्रतिशत रहेको छ ।

    त्यस्तै, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ ।

    धितोपत्र बजारमा लगानीकर्ताको संख्या बढ्दै गएसँगै डिम्याट, ‘मेरो सेयर’ तथा कारोबार खाताको विस्तारले बजारमा लगानीकर्ताको पहुँच थप फराकिलो भएको बोर्डका अध्यक्ष भट्टले अर्थ समिति बैठकमा प्रस्तुत गरेको विवरणले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images