काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार दुई बैंकको शेयरमूल्य समायोजन गरेको छ । नबिल बैंक र गरिमा विकास बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयरका आधारमा शेयरमूल्य समायोजन गरेको जनाएको छ ।
समायोजनपछि नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ । त्यस्तै, गरिमा विकास बैंकको समायोजित शेयरमूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम शेयरमूल्यलाई आधार बनाएर समायोजन गरेको हो । मंगलबारको कारोबारमा नबिल बैंकको शेयर प्रतिकित्ता ५६६ रुपैयाँ र गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बोनस शेयर समायोजनपछि कायम भएको नयाँ मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।


विश्व खबर 



















