images
images
  • शेयर बजारको समस्याबारे ‘एक्सन’मा अर्थ समिति, नेप्से र सेवोनसहितका सरोकारवालाहरूलाई छलफलमा बोलायो

    काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने विषयमा सरोकारवाला निकायहरूसँग छलफल गर्ने भएको छ ।

    समितिको भोलि बिहान साढे ८ बजे बस्ने बैठकमा विशेषगरी धितोपत्र निष्काशन तथा सूचीकरण, बजार सञ्चालन तथा नियमन, लगानीकर्ताको हित संरक्षण र पूँजी बजारसँग सम्बन्धित विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    समितिले धितोपत्र निष्काशन तथा सूचीकरणको वर्तमान प्रक्रिया र त्यससँग सम्बन्धित नियम, बजार सञ्चालनमा नियामक निकायको भूमिका तथा प्रभावकारिता र आम लगानीकर्ताको अधिकार तथा हित संरक्षणका विषयमा सरोकारवाला निकायबाट जानकारी लिनेछ ।

    त्यस्तै, पूँजी बजारसँग सम्बन्धित विद्यमान व्यवस्था, त्यसको कार्यान्वयन अवस्था तथा आवश्यक सुधारका विषयमा समेत समितिले छलफल गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल सेयरधनी संघका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

    सरोकारवाला निकायका प्रमुखहरूसँग प्रत्यक्ष जानकारी लिएर पूँजी बजारको नियमन, बजार संरचना, लगानीकर्ताको हित संरक्षण तथा विद्यमान व्यवस्थामा गर्नुपर्ने सुधारका विषयमा समितिले छलफल गर्नेछ ।

    पछिल्लो समय नेपालको पूँजी बजारमा नियमन, पारदर्शिता, ठूला सेयरधनीको कारोबार तथा बजार संरचनासम्बन्धी विभिन्न विषयमा बहस भइरहेका बेला अर्थ समितिको यो छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images