काठमाडौं– नेपाल राष्ट्र बैंकले दीर्घकालीन प्रकृतिका परियोजनामा कर्जाको ब्याज पुँजीकरणसम्बन्धी व्यवस्था स्पष्ट गरेको छ ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमार्फत लामो समय लाग्ने परियोजनाको नगद प्रवाह सुरू नहुँदासम्म निश्चित शर्तमा कर्जाको ब्याज पुँजीकरण गर्न सकिने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार दीर्घकालीन प्रकृतिको परियोजनालाई व्यवसाय सञ्चालन वा उत्पादनबाट नगद आम्दानी सुरू गर्न लामो समय लाग्ने भएकाले परियोजनाको नगद प्रवाह सुरू नहुँदासम्मको ‘ग्रेस’ अवधिमा परेको ब्याज पुँजीकरण गर्न सकिने व्यवस्था छ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले ब्याज पुँजीकरण गरिने क्षेत्र, परियोजनाको नगद प्रवाहको यथार्थपरक विश्लेषण, पुँजीकरण गरिएको ब्याजको भुक्तानीसम्बन्धी सर्त, प्रस्तावित पुँजी योजना तथा त्यसको आधार र प्रस्तावित कर्जा–स्वपुँजी अनुपातका आधारमा कार्यविधि बनाएर लागू गर्नुपर्नेछ ।
त्यस्तै, ऋणीको काबुबाहिरको परिस्थितिका कारण परियोजना सञ्चालन गर्न नसकी क्षति भएको र पुन: सञ्चालनमा आउन कम्तीमा दुई वर्षभन्दा बढी समय लाग्ने अवस्था भएमा समेत निश्चित सर्तमा ग्रेस अवधिमा परेको ब्याज पुँजीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तो अवस्थामा कर्जाको भाखा नाघेको सम्पूर्ण साँवा तथा ब्याज असुल हुनुपर्ने र ग्रेस अवधि प्रदान गरिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।



विश्व खबर 

















