images
images
  • चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ ?

    काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् ।

    त्यसैले असोज १३ गतेसम्म शेयर कारोबार भई कायम हुने लगानीकर्ताले यी कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

    यीमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    हाल कायम चुक्ता पूँजीका आधारमा बोनस र नगद दुवै करिब ६० करोड २१ लाख रुपैयाँका दरले हुनेछन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

    नबिल बैंकले कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ । बोनसतर्फ १ अर्ब ३५ करोड २८ लाख रुपैयाँभन्दा बढी र नगदतर्फ २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकको ४२औँ वार्षिक साधारणसभा असोज २२ गते हुँदैछ ।

    रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बराबर हुने करिब ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । कम्पनीको ३२औँ वार्षिक साधारणसभा पनि असोज २२ गते आयोजना हुँदैछ ।

    यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा करिब १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकको साधारणसभा असोज २३ गते बस्नेछ ।

    शेयर बजारको समस्याबारे ‘एक्सन’मा अर्थ समिति, नेप्से र सेवोनसहितका सरोकारवालाहरूलाई छलफलमा बोलायो

    प्रतिक्रिया दिनुहोस्
    images
    images