काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । सोमबार पनि घटेको नेप्सेले मंगलबार समेत गिरावटलाई निरन्तरता दिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले घटेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ३६३ वटा स्टकको ५१ हजार २७४ पटकको कारोबारमा १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ । यसबाट कुल कारोबार रकम ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँ पुगेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
यस दिन १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढ्दा ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब ६।५ प्रतिशतले बढेको छ ।
कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य भने सर्वाधिक ५.४४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन् । निर्जीवन बीमा र अन्य उपसमूह सामान्य बढेका छन् । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ ।


विश्व खबर 

















