images
images
  • घोराहीमा चाडपर्व लक्षित सुपथ पसलमा बढ्यो उपभोक्ताको भीड

    काठमाडौं – दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै दाङको घोराहीमा सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । बजारको तुलनामा सस्तो मूल्यमा चिनी र नुन पाइने भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको घोराहीस्थित सुपथ पसलमा पछिल्ला दिनमा उपभोक्ताको भीड बढ्दै गएको हो ।

    साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार सुरुका दिनमा ग्राहकको सङ्ख्या कम भए पनि अहिले दैनिक ३०० भन्दा बढी उपभोक्ता सामान खरिदका लागि आउने गरेका छन् ।

    सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँ र नुन प्रतिकिलो २४ रुपैयाँमा बिक्री भइरहेको छ । उपभोक्ताका अनुसार बजारमा चिनी प्रतिकिलो करिब १४० रुपैयाँ र नुन ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । बजारको तुलनामा सुपथ पसलबाट चिनी खरिद गर्दा प्रतिकिलो करिब ४० रुपैयाँ र नुनमा ६ रुपैयाँसम्म बचत हुन्छ ।

    घोराही उपमहानगरपालिका–१५ की निर्मला मगर बजारभन्दा सस्तोमा चिनी र नुन पाइने भएकाले सुपथ पसलमा खरिद गर्न आएको बताइन् । सरकारले चिनी र नुनसँगै अन्य दैनिक उपभोग्य वस्तु पनि सहुलियत मूल्यमा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

    घोराही–७ का निर्मल केसीले पनि बजारको तुलनामा केही सस्तोमा नुन र चिनी खरिद गर्न पाउँदा राहत भएको बताए ।

    साल्ट ट्रेडिङले एक जना उपभोक्ताले एकपटकमा अधिकतम ६ किलो चिनी र ६ किलो नुन खरिद गर्न पाउने व्यवस्था गरेको छ । चाडपर्वका समयमा एउटै व्यक्तिले ठूलो परिमाणमा सामान खरिद गर्दा अन्य उपभोक्तालाई अभाव हुन सक्ने भएकाले खरिद सीमा तोकिएको हो । यसको दुरुपयोग हुन नदिन कार्यालयले निगरानी गरिरहेको जनाएको छ ।

    असोज १ देखि कात्तिक मसान्तसम्म

    साल्ट ट्रेडिङले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। घोराहीको सुपथ पसल कात्तिक ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र बजार मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको प्रमुख गुप्ताले बताए ।

    विगतका वर्षमा चाडपर्व लक्षित सुपथ पसलमा मुख्य रूपमा नुन बिक्री गर्दै आएको साल्ट ट्रेडिङले यस वर्ष नुनसँगै चिनीसमेत सहुलियत मूल्यमा बिक्री गरिरहेको छ ।

    साल्ट ट्रेडिङले घोराहीबाहेक विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङलगायतका स्थानमा पनि दसैँ, तिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

    चाडपर्व नजिकिएसँगै चिनी, नुनलगायत दैनिक उपभोग्य वस्तुको माग बढिरहेका बेला सहुलियत मूल्यमा बिक्री गर्ने सरकारी पहलले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images