काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले सोमबारदेखि उक्त प्रणालीको परीक्षण सुरु गरेको हो ।
सर्भेयर छनोट र खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ ।
नयाँ प्रणालीमा सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि प्राप्त गरेको कामलगायतका विवरण समावेश गरिएको छ । कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सोही दाबीका लागि उपयुक्त सर्भेयर छनोट प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ ।
उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबी आएमा सो विषयमा विशेषज्ञता भएको, सम्बन्धित क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त व्यक्ति छनोट गर्नेछ । यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्था घट्ने प्राधिकरणको अपेक्षा छ ।
६८० सर्भेयरको विवरण प्रणालीमा
प्राधिकरणका अनुसार हाल प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० जना सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ ।
सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक क्षेत्र, पोर्टफोलियो र यसअघि पाएको कामको विवरण राखिएको छ ।
हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ । तर सर्भेयरले पाएको काम, सम्पन्न गरेको काम र नयाँ काम लिन सक्ने अवस्थाको प्रभावकारी अभिलेख राख्न कठिनाइ हुँदै आएको प्राधिकरणको भनाइ छ ।
नयाँ प्रणालीले सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने विवरणसमेत अभिलेख राख्नेछ ।
मनपरी सर्भेयर छनोटमा नियन्त्रण
बीमा कम्पनीले आफूले रोजेका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासो आउने गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै एउटै सर्भेयरले धेरै काम पाउने र अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने समस्या पनि रहेको बताइएको छ ।
स्वचालित प्रणालीले सर्भेयर छनोटका आधारलाई निश्चित मापदण्डमा बाँध्ने भएकाले यस्तो अभ्यास नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।
कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरणसमेत प्रणालीमा रहने भएकाले निर्णय प्रक्रियाको पारदर्शिता र जवाफदेहिता बढ्नेछ ।
बीमा कम्पनी र सर्भेयरलाई तालिम
नयाँ प्रणालीका विषयमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका सूचना प्रविधि प्रमुख र दाबी प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिने तयारी गरिएको छ । त्यसपछि सर्भेयरलाई पनि प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइनेछ ।
प्राधिकरणले आगामी चरणमा पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना बनाएको छ ।
प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, दाबी प्रमुख तथा सूचना प्रविधि प्रमुखलगायत सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो । सोही आधारमा सर्भेयर छनोटका मापदण्ड र प्यारामिटर तयार गरी सफ्टवेयर विकास गरिएको प्राधिकरणले जनाएको छ ।
सुरक्षा परीक्षणपछि पूर्ण सञ्चालन
अहिले बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन् । प्रणाली परीक्षणका क्रममा यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ ।
प्राधिकरणका अनुसार प्रणालीमा फायरवाल, भिएपिटीपीलगायतका सुरक्षा परीक्षणसमेत गरिनेछ । परीक्षण र आवश्यक सुधारपछि प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।
स्वचालित प्रणालीले सर्भेयर छनोटमा लाग्ने समय घटाउनुका साथै दाबी प्रक्रियामा हुने ढिलाइ, पुनः मूल्याङ्कन र सेवाग्राहीसँग उत्पन्न हुन सक्ने विवाद न्यूनीकरणमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।
दीर्घकालमा प्रणालीबाट सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्याङ्क सङ्कलन हुने र त्यसका आधारमा सर्भेयरको सेवा प्रवाह, कार्यभार तथा सेवाग्राहीले प्राप्त गरेको सेवाको अध्ययन गर्न सकिने प्राधिकरणले जनाएको छ। यसबाट सर्भेयरसम्बन्धी नीति तथा नियमन निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















