काठमाडौं – उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी भोटेकोशी बाढीपछि हरेक दिन जोखिमपूर्ण यात्रा गर्दै विद्यालय पुग्न बाध्य भएका छन् ।
यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले खोला तर्नेदेखि गाडीमा झुन्डिने र तुइनबाट उर्लँदो त्रिशूली नदी पार गर्नेसम्मको जोखिम मोल्दै आएका हुन् ।
विद्यालयकी शिक्षिका रन्जना थापाका अनुसार भोटेकोशी बाढीपछि विद्यार्थीको दैनिक यात्रा थप कठिन र जोखिमपूर्ण बनेको छ ।
उनका अनुसार विद्यार्थीहरू दैनिक सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन् । त्यसपछि गाडीको पछाडि झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म पुग्छन् ।
कोलोनी पुगेपछि पनि उनीहरूको यात्रा सहज हुँदैन । तुइनको सहारामा उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्नुपर्ने बाध्यता छ ।
ढुङ्गे बजारबाट माइक्रोबस चढेर आङ्गिटार पुग्ने विद्यार्थी त्यहाँबाट सिहाले गाउँ हुँदै करिब आधा घण्टा उकालो पैदल हिँडेर बेत्रावती पुग्छन् । त्यसपछि फड्के तरेर थप करिब २० मिनेट उकालो हिँडेपछि मात्र विद्यालय पुग्ने गरेका छन् ।
बाढीपछि फेरिएको विद्यार्थीको दैनिकी
भोटेकोशी बाढीले सडक तथा यातायातका संरचनामा क्षति पुर्याएपछि विद्यार्थीको दैनिक यात्रा थप जोखिमपूर्ण बनेको हो ।
शिक्षिका थापाले विद्यार्थीले शिक्षा आर्जनका लागि दैनिक रूपमा खेपिरहेको कष्टपूर्ण यात्रा सुन्दा कथाजस्तो लागे पनि यो बाढीपछि सिर्जिएको वास्तविकता भएको बताइन् ।
“भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट आउने विद्यार्थीले दैनिक रूपमा त्यस्तै कष्टपूर्ण यात्रा तय गरेर विद्यालय आइपुग्ने गरेका छन्,” थापाले भनिन् ।
जोखिमपूर्ण यात्राले बढायो चिन्ता
विद्यार्थीले दैनिक खोला तर्नुपर्ने, उर्लँदो नदी तुइनबाट पार गर्नुपर्ने तथा चलिरहेको गाडीमा झुन्डिएर यात्रा गर्नुपर्ने अवस्थाले उनीहरूको सुरक्षामाथि गम्भीर जोखिम बढाएको छ ।
विद्यालय पुग्नकै लागि लामो दूरी पैदल हिँड्नुपर्ने र पटक–पटक यातायातका साधन परिवर्तन गर्नुपर्ने भएकाले विद्यार्थीले शारीरिक रूपमा समेत ठूलो सास्ती खेपिरहेका छन् ।
शिक्षिका थापाले शिक्षा आर्जनका लागि विद्यार्थीले दैनिक रूपमा यति ठूलो जोखिम मोल्नुपर्ने अवस्था अन्त्य गर्न तीनै तहका सरकारले समयमै ध्यान दिनुपर्ने बताइन् ।
उनले बाढीपछि प्रभावित विद्यार्थीको आवतजावत सहज बनाउन तत्काल ठोस व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।


विश्व खबर 



















