काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६० जना, तीव्रगतिमा सवारी चलाउने ९३ जना, सिसीटिभीमार्फत पहिचान भएका ५३ जना र सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ जना छन् ।
त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन अनुशासन उल्लङ्घन गर्ने पाँच जना, सवारीसाधनको अवस्था ठीक नभएका १२ जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने पाँच जना चालक कारबाहीमा परेका छन् ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जना चालकलाई समेत जरिवानासहित कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ ।
सवारी नियमको पालना चालकको जिम्मेवारीसँगै पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षासँग समेत जोडिएको भन्दै ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैलाई अनुरोध गरेको छ ।


विश्व खबर 



















