images
images
  • एआईआईबीको उपसभापतिमा नेपाल निर्वाचित, अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

    काठमाडौं – एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन् ।

    कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । वार्षिक बैठकका क्रममा नेपाललाई सन् २०२६–२७ का लागि एआईआईबीको उपसभापति निर्वाचित गरिएको छ ।

    बैठकमा अर्थमन्त्री वाग्लेले नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र क्षमताअनुसार एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने धारणा राखेका थिए ।

    उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायतका पूर्वाधार क्षेत्रमा बैंकको लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

    बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

    भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्ध, लगानी विस्तार तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो । त्यस्तै, प्राकृतिक विपत्तिपछि पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगका विषयमा समेत छलफल भएको जनाइएको छ ।

    एआईआईबीको उपसभापतिमा नेपालको निर्वाचनले बैंकको नीति तथा निर्णय प्रक्रियामा नेपालको सहभागिता थप संस्थागत गर्ने अवसर प्राप्त भएको छ । यसबाट नेपालले पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालन तथा सहकार्य विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images