काठमाडौं – गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षापछि करिब ८० मिटर पक्की सडक भासिएपछि रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको हो ।
सडक भासिएपछि उक्त सडकखण्डमा नियमित यातायात सञ्चालन हुन सकेको छैन । मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन् । सडक भासिँदा प्रारम्भिक रूपमा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
दुई घर उच्च जोखिममा
सडक भासिएसँगै पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन् । स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा घरसमेत बगाउने हो कि भन्ने त्रास रहेको बताएका छन् ।
लगातार वर्षा भइरहेकाले सडक आसपासका बस्तीमा थप जोखिम बढ्न सक्ने स्थानीयको भनाइ छ ।
निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै सडक भासियो
सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।
निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडकको ठूलो भाग भासिएको हो । सडक भासिएपछि यसको निर्माण गुणस्तर र दिगोपनाबारे समेत प्रश्न उठेको छ ।
एक–दुई दिनभित्र अस्थायी मार्ग खोल्ने तयारी
सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले तत्काल यातायात सञ्चालन सहज बनाउन एक–दुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताएका छन् ।
भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताए ।
विद्यार्थी र विमानस्थल जाने यात्रु प्रभावित
सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट सदरमुकाम तम्घास अध्ययनका लागि आउने विद्यार्थी तथा रेसुङ्गा विमानस्थल जाने यात्रु र सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
मुख्य सडक नै अवरुद्ध भएपछि स्थानीयको दैनिक आवतजावतसँगै विमानस्थलसम्मको पहुँचसमेत प्रभावित भएको छ ।


विश्व खबर 



















