images
images
  • सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहामा छाडियो

    काठमाडौं – नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुगेको पोथी गैँडालाई उद्धार गरी चितवनको सौराहास्थित जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बाढीले बगाएर सुस्ता पुगेको गैँडालाई उद्धार गरी ट्रकमार्फत सौराहा ल्याइएको थियो । उद्धार गरिएको गैँडा अन्दाजी पाँच वर्षको रहेको उनले बताए ।

    गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो । टोलीले गैँडालाई सुरक्षित रूपमा उद्धार गरी चितवन ल्याएको हो ।

    हालसम्म नारायणी नदीको बाढीले एउटा मात्रै गैँडा बगाएको आधिकारिक जानकारी प्राप्त भएको छ । तर बाढीमा अन्य गैँडा तथा वन्यजन्तु पनि बगेको हुनसक्ने अनुमान गरिएको निकुञ्जले जनाएको छ ।

    यसअघि पनि बाढीले गैँडा भारत पुर्‍याएको थियो

    यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा आएको बाढीले केही गैँडा बगाएर भारतीय भूमिसम्म पुर्‍याएको थियो ।

    तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा. रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडालाई उद्धार गरी चितवन ल्याइएको थियो ।

    पछिल्लो गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images