images
images
  • बकैया ज्यामिरेमा जमिन फाट्दा गाउँ नै जोखिममा, ८० घरधुरी प्रभावित

    काठमाडौं – बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेको गरगरे बस्तीमा जमिन फाट्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन् । लगातारको वर्षापछि असोज ११ गतेदेखि जमिन चिराचिरा पर्न थालेसँगै बस्ती नै जोखिममा परेको हो ।

    स्थानीयका अनुसार करिब दुई वर्गकिलोमिटर क्षेत्रमा ठाउँ–ठाउँमा जमिन चिरिएको छ । कतिपय स्थानमा जमिन १२ फिटसम्म भासिएको छ भने केही भूभाग तलतिर सरेको छ। जमिन चिरिने क्रममा अस्वाभाविक आवाजसमेत सुनिएको स्थानीयले बताएका छन् ।

    बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीका अनुसार जमिन भासिने र चिरिने क्रमले करिब ८० घरधुरी प्रभावित भएका छन्। तीमध्ये आठवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    घटनापछि जोखिममा रहेका स्थानीयलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको छ । स्थानीयहरू रातको समयमा विद्यालय भवनमा बस्दै आएका छन् ।

    घरभित्रै चिरा परेपछि स्थानीय विस्थापित

    स्थानीय चन्द्रमाया थिङले असोज ११ गते दिउँसो घर फर्किएपछि घरको मझेरी चिरिएको देखेको र केही समयमै वरपरको जमिनसमेत फाट्न थालेको बताइन् ।

    “जमिनसँगै घरभित्रै चिरा पर्न थालेपछि डाङ्डाङडुङ्डुङ आवाज आउन थाल्यो,” उनले भनिन्, “घर नै चिराचिरा परेर भत्कन थालेपछि त्यो रात छिमेकीकोमा बस्यौँ र अर्को दिनदेखि विद्यालयमा बस्दै आएका छौँ ।”

    आर्थिक अवस्था कमजोर रहेकाले सुरक्षित स्थानान्तरण र जीविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने उनको अपेक्षा छ ।

    ७० वर्षीय स्थानीय चित्रबहादुर किलुङको घर पनि चिराचिरा परेपछि बस्न नसक्ने अवस्थामा पुगेको छ । उनले लामो समयको दुःख र मेहनतबाट बनाएको घर छाड्नुपर्दा आफूहरू बेसहारा बनेको बताए ।

    त्यस्तै ८४ वर्षीय रामबहादुर घलानको घरसमेत जमिन चिरिने क्रममा क्षतिग्रस्त भएपछि उनी घरबारविहीन भएका छन् । उनले तत्काल सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न माग गरेका छन् ।

    सडक र विद्युत् संरचनासमेत प्रभावित

    जमिन फाट्नुका साथै सडक तथा विद्युत्का खम्बासमेत ठाउँ–ठाउँमा कोल्टिएका छन् । यसले सिङ्गो गाउँको सुरक्षा जोखिम बढाएको बकैया गाउँपालिका–६ का वडाध्यक्ष फूलमान भम्जनले बताए ।

    स्थानीयका अनुसार जमिन चिरिने क्रम अझै रोकिएको छैन । बस्ती आसपासको भूभागमा थप क्षति हुन सक्ने भन्दै स्थानीय त्रासमा छन् ।

    यसअघि पनि जमिन चिरिएको थियो

    ज्यामिरेमा बस्ती विकास विसं २०२० सालदेखि भएको स्थानीयले बताएका छन्। यहाँ तामाङ र विक समुदायको बाहुल्यता छ ।

    यसअघि विसं २०६८ सालमा पनि सो क्षेत्रमा यस्तै गरी जमिन चिराचिरा परेको थियो। त्यसबेला विद्यालयसमेत अन्यत्र सार्नुपरेको थियो ।

    तत्कालीन शङ्खेश्वरी प्राथमिक विद्यालयलाई ठूलो ज्यामिरेबाट देवीडाँडा (तल्लो टोल) मा सारिएको थियो । हाल उक्त विद्यालयमा ठूलो ज्यामिरे, सानो ज्यामिरे, काल्छे, खोला, भोगटे र अल्छेलगायत क्षेत्रका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

    प्रशासनको चासो, सुरक्षित स्थानमा बस्न आग्रह

    जमिन चिराचिरा पर्न थालेको जानकारी पाएपछि मकवानपुर प्रशासनले स्थानीयको सुरक्षालाई प्राथमिकता दिएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मंगलबार प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

    अवलोकनका क्रममा उनले जमिन चिरिरहेको अवस्थामा पहिलो प्राथमिकता ज्यानको सुरक्षा भएकाले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

    उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै फापरबारी प्रहरी चौकी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका सुरक्षा निकायलाई परिचालन गरी स्थानीयलाई सुरक्षित रहन सूचना जारी गरिएको थियो ।

    स्थानीय विपद् व्यवस्थापन समितिले स्थलगत अवलोकनपछि उक्त क्षेत्र मानव बस्तीका लागि उपयुक्त नरहेको निष्कर्ष निकालेको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images