काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि प्रसाईंलाई पक्राउ गरी हिरासतमा राख्नुपर्नाको आधार र कारण खुलाएर लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो ।
प्रसाईंलाई बिनाआधार थुनामा राखिएको दाबी गर्दै उनकी धर्मपत्नी उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
प्रसाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले असोज १२ गते बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
साइबर ब्युरोका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान भइरहेको छ । पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
सर्वोच्चको कारण देखाऊ आदेशपछि अब प्रसाईंलाई पक्राउ गरी हिरासतमा राख्नुको कानुनी आधार र कारणसहित सम्बन्धित निकायले अदालतमा लिखित जवाफ पेस गर्नुपर्नेछ ।


विश्व खबर 


















