काठमाडौं – युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न भएको छ । कम्पनी र उसका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्ने डिलरलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको समिट सेप्टेम्बर २१ देखि २५ सम्म थाइल्यान्डको पटायास्थित एक रिसोर्टमा आयोजना गरिएको हो ।
समिटमा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा भेडोल र नेपाल गोल्ड लुब्रिकेन्ट्सका डिलरले कम्पनी तथा डिलरबीचको सहकार्य, बजारका अवसर, व्यावसायिक सम्भावना र आगामी योजनाबारे अनुभव आदानप्रदान तथा छलफल गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कम्पनीका अनुसार व्यवसाय विस्तार तथा कम्पनीको विकासमा उल्लेखनीय योगदान पुर्याउने डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिनिधिलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
समिटकै अवसरमा कम्पनीले मोटरसाइकल तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेङ ल्युब सार्वजनिक गरेको छ । साथै, डिजेल एक्जस्ट फ्लुइडसमेत बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ उत्पादन विस्तारसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार आफ्नो उत्पादनको दायरा विस्तार गर्ने रणनीतिमा कम्पनी अघि बढेको जनाएको छ ।
व्यावसायिक छलफलसँगै समिटमा मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिसमेत आयोजना गरिएको थियो । यस्ता गतिविधिले कम्पनी र डिलरबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिका उपमहाप्रबन्धक दिनेश खनालले समिट सफल, फलदायी र ऊर्जावान बनेको बताए । उनका अनुसार समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यावसायिक विकास र नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ ।


विश्व खबर 



















