काठमाडौं – सरकारले सुरक्षा निकायका बिक्री केन्द्रबाट पनि खाना पकाउने ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यासको आपूर्तिमा असहज अवस्था आए सुरक्षा निकायका बिक्री केन्द्रबाट समेत ग्यास वितरण गर्न सकिने गरी तयारी भइरहेको जानकारी दिएको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले सुरक्षा निकायलाई ग्यास बिक्री वितरणको अनुमति दिने तयारी भइरहेको बताए ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन् । ती निकायका बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्न सके आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
“अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् । सुरक्षा निकायका बिक्री केन्द्रबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ,” सचिव तामाङले भने ।
उनले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका बिक्री केन्द्रमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए ।
सम्भावित ग्यास अभावलाई ध्यानमा राखेर आपूर्ति व्यवस्थापनलाई थप सहज र भरपर्दो बनाउन यस्तो व्यवस्था गर्न लागेको उनले बताए ।


विश्व खबर 



















