images
images
  • राष्ट्र बैंकले १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्दै

    काठमाडौं  – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।

    केन्द्रीय बैंकले २८ दिन अवधिको ‘एक महिने निक्षेप संकलन उपकरण’ बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार असोज १६ गते दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सकिनेछ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र बोलपत्र पेस गर्नुपर्नेछ । उपकरण असोज १६ गते नै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज रकम कात्तिक १३ गते भुक्तानी गरिनेछ ।

    उक्त उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत बोल पेस गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    क, ख र ग वर्गका संस्थाले मात्र भाग लिन पाउने

    निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

    सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १८ अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी पेस गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images