images
images
  • राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप तान्दै

    काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो ।

    राष्ट्र बैंकले असोज १२ गते दिउँसो ३ बजेसम्म निक्षेप संकलनका लागि बोलकबोल गर्ने जनाएको छ । बोलकबोल अनलाइन बोलपत्र प्रणालीमार्फत मात्र हुनेछ ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको अवधि ३० दिनको हुनेछ । संकलित रकम तथा ब्याज आगामी कात्तिक ११ गते भुक्तानी गरिनेछ ।

    यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा आह्वान गरिएको कुल रकमसम्म बोल गर्न सक्नेछन् । बोल रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ ।

    कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । समान ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूको हकमा उपलब्ध रकमको अनुपातका आधारमा बाँडफाँट गरिनेछ ।

    राष्ट्र बैंकले यस उपकरणलाई केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    संकलित रकम बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा रहने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर वैधानिक तरलता अनुपात तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।

    तोकिएको समयअघि रकम फिर्ता नहुने

    निक्षेप संकलन उपकरणको रकम तोकिएको भुक्तानी मितिभन्दा अगावै फिर्ता नहुने राष्ट्र बैंकले जनाएको छ । अर्थात् बैंक तथा वित्तीय संस्थाले कात्तिक ११ गतेअघि रकम फिर्ता लिन पाउने छैनन् ।

    बोलपत्र स्वीकृत भएको संस्थाको खातामा निष्कासनका दिन पर्याप्त रकम नभएमा सम्बन्धित संस्थामाथि कारबाही गरिनेछ । त्यस्ता संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी निक्षेप संकलनको बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ ।

    वित्तीय प्रणालीमा अधिक तरलता हुँदा बैंक तथा वित्तीय संस्थासँग उपलब्ध रकमलाई केही समयका लागि केन्द्रीय बैंकमा तानेर तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images