images
images
  • प्रभु बैंकमा फेरि तरङ्ग : नयाँ सीईओमाथि नै फौजदारी मुद्दा दायर भएपछि नेतृत्व सङ्कटमा फस्यो

    काठमाडौं– प्रभु बैंकको नेतृत्वमाथि फौजदारी कसुरमा प्रहरीले प्रकाउ गरि अनुसन्धान अघि बढाएपछि नेतृत्व परिवर्तन भएको एक वर्ष नपुग्दै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध पनि अर्काे फौजदारी मुद्दा दायर भएको छ ।

    पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगमा मुद्दा दायर भएपछि बैंकको व्यवस्थापनमाथि पुन: गम्भीर प्रश्न उठेको छ भने शर्मा फोर्स लिभमा बसेका र सार्वजनिक रूपमा देखा परेका छैनन् ।

    पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले तत्कालीन सनराइज बैंकका सीईओसमेत रहेका शर्मासहित चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । प्रतिवादीमा तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसी पनि छन् ।

    अभियोगपत्र अनुसार तत्कालीन सनराइज बैंकको केन्द्रीय कार्यालयबाट २०८० वैशाख ५ गते अञ्जली इन्टरनेसनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको थियो । कर्जाको सुरक्षणका लागि बाराको अमवास्थित जग्गा बैंकको पक्षमा धितोबन्धकसमेत गरिएको उल्लेख छ । तर स्वीकृत कर्जा रकम आफूले प्राप्त नगरेको दाबी गर्दै अञ्जली इन्टरनेसनलले कानुनी प्रक्रिया अघि बढाएको थियो ।

    सरकारी पक्षले धितोबन्धक गरिएको ८९ लाख रुपैयाँलाई बिगो कायम गरी सोही बराबरको क्षतिपूर्ति भराउन माग गरेको छ ।

    शर्मा २०८२ माघमा चार वर्षका लागि प्रभु बैंकको सीईओ नियुक्त भएका थिए । नयाँ जिम्मेवारी सम्हालेको एक वर्ष पनि पूरा नहुँदै उनी आफैं प्रतिवादी बनेको फौजदारी मुद्दाले प्रभु बैंकको उच्च व्यवस्थापन र संस्थागत सुशासनमाथि थप बहस निम्त्याएको छ ।

    यसअघि पनि प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनसहित उच्च अधिकारीहरूविरुद्ध बैंकिङ कसुरका मुद्दा दायर भएका छन् । विभिन्न कर्जा तथा बैंकिङ कारोबारसँग जोडिएका प्रकरणमा बैंकका उच्च अधिकारीमाथि कानुनी कारबाही अघि बढेको पृष्ठभूमिमा नयाँ सीईओसमेत फौजदारी अभियोगमा तानिनुले बैंकका लागि अर्को चुनौती थपिएको हो ।

    अघिल्लो नजिरका आधारमा शर्माविरूद्व पनि फौजदारी मुद्दा दायर भएकाले उनलाई बोर्डले हटाउन सक्ने सम्भावना बढी छ । त्यसो त शर्मा अब अदालतमा हाजिर हुनेछन् । त्यसबेला अदालतले धरौटीमा रिहा गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने मध्ये एउटा आदेश दिनेछ । शर्मा अदालतमा हाजिर नभएमा प्रहरीले पक्राउ गरि अदालतमा हाजिर गराउने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images