काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा फोर्स लिभ लिएर बैंकको नियमित जिम्मेवारीबाट बाहिरिएका छन् । तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा प्रकरणमा शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी फौजदारी मुद्दा दायर भएपछि उनी फोर्स लिभमा बसेका हुन् ।
सरकारी वकिलको कार्यालय पर्साले तत्कालीन सनराइज बैंकका सीईओसमेत रहेका शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाएको छ ।अभियोगपत्रमा चारै जना फरार रहेको उल्लेख गर्दै उनीहरूका नाममा कानुनबमोजिम म्याद पुर्जी जारी गर्न अदालतसमक्ष माग गरिएको छ ।
३ करोड ८९ लाख कर्जा स्वीकृत
अभियोगपत्रअनुसार वीरगन्जमा भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएको अंजली इन्टरनेशनलले व्यवसाय विस्तारका लागि थप कर्जा माग गरेको थियो ।
तत्कालीन सनराइज बैंकको केन्द्रीय कार्यालयले २०८० वैशाख ५ गते अंजली इन्टरनेशनलका लागि ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत गरेको थियो ।
स्वीकृत कर्जाको सुरक्षणका लागि अंजली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमावस्थित कित्ता नम्बर २९९ को जग्गा बैंकको पक्षमा धितोबन्धक गरिएको थियो । उक्त धितोको मूल्य ८९ लाख रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ ।
तर धितोबन्धक गरिसकेपछि पनि स्वीकृत कर्जा रकम कम्पनीको खातामा जम्मा नभएको जाहेरीमा दाबी गरिएको छ ।
धितो लिएपछि पनि कर्जा प्रवाह नभएको दाबी
जाहेरीअनुसार बैंकका सम्बन्धित अधिकारीहरूले स्वीकृत कर्जा उपलब्ध गराउने आश्वासन दिएका थिए । तर लामो समयसम्म रकम उपलब्ध नभएको र पछि सम्बन्धित अधिकारीसँग सम्पर्कसमेत हुन नसकेको दाबी गरिएको छ ।
यही घटनालाई आधार बनाएर सरकारी वकिलको कार्यालय पर्साले बैंकका अधिकारीहरूबीच मिलेमतो भएको तथा धितो लिएर स्वीकृत कर्जा उपलब्ध नगराएको आरोपसहित ठगी र आपराधिक विश्वासघातसम्बन्धी अभियोग दायर गरेको हो ।
अभियोगपत्रमा धितोबन्धक गरिएको ८९ लाख रुपैयाँ बिगो तथा क्षतिपूर्तिका रूपमा प्रतिवादीबाट भराउन माग गरिएको छ । साथै अपराध पीडित संरक्षण ऐनअनुसार पीडित राहत कोषमा रकम जम्मा गर्नसमेत माग गरिएको छ ।
मुद्दा दर्तापछि सीईओ फोर्स लिभमा
बैंक स्रोतका अनुसार आफूलाई मुद्दामा फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको जानकारी पाएपछि शर्माले बैंक प्रशासनलाई इमेलमार्फत आफू फोर्स लिभमा बसेको जानकारी गराएका छन् । शर्माले प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत बन्द रहेको छ ।
यस घटनापछि प्रभु बैंकको उच्च व्यवस्थापनमा समेत चासो बढेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका व्यक्ति आफ्नो अघिल्लो संस्थाको कार्यकालसँग जोडिएको फौजदारी अभियोगमा प्रतिवादी बनेपछि फोर्स लिभमा बसेको घटनाले बैंकको संस्थागत सुशासन र नेतृत्व निरन्तरतासम्बन्धी प्रश्नसमेत उठाएको छ । तर शर्मा फोर्स लिभमा बस्नु र उनलाई प्रहरीले पक्राउ गर्ने पर्ने डरले फरार भएका हुन् ।
सनराइजको कर्जा प्रकरणमा तत्कालीन सीईओको भूमिका प्रश्नमा
यो प्रकरण प्रभु बैंकको सीईओका रूपमा शर्माले गरेको पछिल्लो कारोबार तत्कालीन सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका बेला भएको भनिएको कर्जा प्रक्रियासँग सम्बन्धित छ। अभियोगपत्रमा शर्मासहित चार जना बैंक अधिकारीलाई प्रतिवादी बनाइएकाले अब उनीहरूको व्यक्तिगत भूमिका, कर्जा स्वीकृति प्रक्रिया, धितो मूल्यांकन, कर्जा निकासा तथा रकम प्रवाह रोकिएको हो ।
विशेषगरी ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको अवस्थामा धितोबन्धक गरिएको जग्गाको मूल्य ८९ लाख रुपैयाँ रहेको र सो कर्जा रकम कम्पनीको खातामा किन जम्मा भएन भन्ने विषय मुद्दाको महत्वपूर्ण पक्ष बन्ने देखिन्छ ।


विश्व खबर 



















