images
images
  • नेप्सेमा तीन दिनको गिरावट रोकियो, २५९९ विन्दुमा बजार स्थिर

    काठमाडौं – लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार बिहीबार भने झिनो सुधारसहित स्थिर भएको छ । नेपाल स्टक एक्सचेन्जको परिसूचक ०.२६ अंकले बढे पनि कारोबारको समग्र अवस्था हेर्दा बजारमा ठूलो उतारचढाव देखिएन ।

    बिहीबार नेप्से परिसूचक २५९९.१५ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन संवेदनशील परिसूचक ०.१४ अंकले बढ्दा प्रवाहित शेयर परिसूचक ०.१५ अंक र संवेदनशील प्रवाहित शेयर परिसूचक ०.१२ अंकले उकालो लागेका छन् ।

    परिसूचक सामान्य बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । बुधबार ४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार कित्ता शेयर ५१ हजार ७४५ पटकको कारोबारबाट किनबेच हुँदा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    बिहीबारको बजारमा केही कम्पनीको शेयरमूल्यमा भने उल्लेख्य उतारचढाव देखिएको छ । सिन्धु विकास बैंकको शेयरमूल्य १०.८१ प्रतिशतले बढेर सबैभन्दा धेरै वृद्धि भएको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । अर्कोतर्फ सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.६६ प्रतिशतले घटेको छ ।

    कारोबार रकममा सिद्धार्थ बैंक अगाडि देखिएको छ । बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको र असोज १६ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले लाभांश सुरक्षित गर्ने अन्तिम दिनको कारोबारमा बैंकको शेयरमा लगानीकर्ताको चासो देखिएको हो ।

    यसैगरी अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको करिब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    बिहीबार १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत् समूह बढेका छन् भने व्यापारसहित आठ समूह घटेका छन् । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेको छ । लगानी समूहको परिसूचक भने स्थिर रहेको छ ।

    लगातार तीन दिनको गिरावटपछि नेप्से सामान्य अंकले सकारात्मक भए पनि परिसूचकमा देखिएको न्यून वृद्धि र कारोबार रकमको अवस्थाले बजारमा अझै बलियो दिशाको संकेत देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images