काठमाडौं – एनसेलले नेपालमा एप्पलका फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोन १८ सिरिज खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।
एनसेलका अनुसार आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले यो योजना अन्तर्गत विभिन्न सुविधा प्राप्त गर्नेछन् ।
बन्डल प्याकेजमा असीमित डाटा, असीमित स्थानीय कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम सामग्री उपलब्ध हुने लायन्सगेटको सदस्यता समावेश गरिएको छ ।
योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क प्राप्त गर्नेछन् ।
त्यसैगरी, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना उपभोग गर्न पाउने एनसेलले जनाएको छ ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याउन पाउँदा खुसी लागेको बताए ।
उनले प्रिमियम उपकरणसँग भरपर्दो मोबाइल सेवा जोडेर ग्राहकको दैनिक सञ्चार तथा मनोरञ्जनलाई थप सहज र उपयोगी बनाउने उद्देश्य रहेको बताए ।
एनसेलले नयाँ योजनाले देशभरका ग्राहकलाई मोबाइल सेवा, सञ्चार तथा डिजिटल मनोरञ्जनको सुविधा एउटै बन्डलमार्फत उपलब्ध गराउने जनाएको छ ।


विश्व खबर 



















