images
images
  • बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल, चाडपर्वको किनमेलमा उपभोक्ताको चाप

    काठमाडौं – दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

    चाडपर्वका बेला बजारमा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणमा सहयोग पु¥याउँदै उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।

    बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङको वितरण केन्द्रमा सञ्चालन भइरहेको सुपथ मूल्य पसल छठ पर्वसम्म खुला रहनेछ । पसल शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने कर्पोरेशनले जनाएको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेका अनुसार सुपथ मूल्य पसलका लागि विभिन्न उपभोग्य वस्तुको विशेष मूल्य निर्धारण गरिएको छ । पसलमा प्रतिकिलो नुन २४ रुपैयाँ र चिनी १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

    त्यस्तै, २५ किलोको भान्साघर स्टिम जिरा मसिनो चामल २ हजार ५८० रुपैयाँमा उपलब्ध छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएको छ ।

    मूल्यसूचीअनुसार मुसुरो दाल प्रतिकिलो १४० रुपैयाँ, रहर दाल २१० रुपैयाँ, मास दाल २०५ रुपैयाँ र चना दाल १५५ रुपैयाँमा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कर्पोरेशनले जनाएको छ ।

    पसलमा मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत राखिएको छ । घ्यु तथा तेलतर्फ डिडीसी घ्यु १ हजार १४० रुपैयाँ, शान्ति तोरीको तेल ३८० रुपैयाँ र तृप्ति तोरीको तेल २७० रुपैयाँमा बिक्री भइरहेको छ । सनबिम सूर्यमुखी तेलसमेत उपलब्ध रहेको छ ।

    त्यस्तै, अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत पसलमा राखिएको छ । खाद्यान्नबाहेकका अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।

    एसटिसी ग्यास सिलिन्डर २ हजार १६५ रुपैयाँ, लुनारको दुई हजार वाटको इन्डक्सन चुलो ४ हजार ९६० रुपैयाँ र किनमेल गर्ने झोला ३५ रुपैयाँमा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले जानकारी दिनुभयो ।

    चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न कर्पोरेशनले उपभोक्तालाई आग्रह गरेको छ ।

    खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा खाद्यान्न तथा घरायसी सामग्री सस्तो दरमा पाएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बनेपाकी उपभोक्ता रमिता नेपालीले चाडपर्वको मुखमा नुन, तेल, चामल र दाललगायत दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा पाउँदा घरखर्च व्यवस्थापनमा सहज भएको बताउनुभयो ।

    साल्ट ट्रेडिङले असोज १ गतेदेखि दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। कर्पोरेशनले बनेपा र धुलिखेलसहित विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images