images
images
  • यसपालि दसैंमा खाद्यले खसीबोका र च्याङ्ग्रा नबेच्ने

    काठमाडौं – दसैंमा बजार मूल्य नियन्त्रण गर्न हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालि भने ती पशु नबेच्ने भएको छ ।

    खसीबोका खरिदबिक्रीबाट निरन्तर घाटा भएको र सडक अवरोधका कारण ढुवानीमा थप जोखिम बढ्ने देखिएपछि कम्पनीले यस वर्षको बजेट कार्यक्रममै खसीबोका तथा च्याङ्ग्रा खरिदबिक्रीको कार्यक्रम नराखेको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार विगतका वर्षमा खसीबोका खरिद तथा बिक्री गर्दा कम्पनीले निरन्तर घाटा बेहोर्नुपरेको थियो ।

    यस वर्ष सडकमा देखिएको अवरोधका कारण पशु ढुवानी थप कठिन हुने र बाटोमै तौल घट्ने तथा मर्नेसम्मको जोखिम रहेकाले खरिदबिक्रीबाट पछि हटिएको उनले बताए ।

    “यसअघिका वर्षमा निरन्तर घाटा बेहोर्नुपरेको थियो । यस पटक सडकमा देखिएको समस्याले ढुवानीमा समेत कठिनाइ हुने देखिएपछि खसीबोका नबेच्ने भएका हौं,” मिश्रले भने ।

    उनका अनुसार कम्पनीले यस वर्षको बजेट तथा कार्यक्रममै खसीबोका र च्याङ्ग्रा खरिदबिक्री समावेश गरेको छैन । अघिल्ला वर्षमा दसैंका बेला बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारी कम्पनीले खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो ।

    कम्पनीका केही कर्मचारीका अनुसार खसीबोका र च्याङ्ग्रा बिक्री गरेर मात्रै बजारमा ठूलो हस्तक्षेप गर्न नसकिने भएकाले खाद्यले आफ्नो प्राथमिकता खाद्यान्न बिक्रीतर्फ केन्द्रित गर्न थालेको हो ।

    बजारमा पशु बिक्री गर्दा अपेक्षित रूपमा मूल्य नियन्त्रण गर्न नसकिएको र कम्पनीले घाटा बेहोर्नुपरेको उनीहरूको भनाइ छ ।

    गत वर्ष पनि खाद्यले खसीबोका बिक्री गरेको थिएन । त्यसबेला भएको जेन–जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै कम्पनीले खसीबोका बिक्री नगर्ने निर्णय गरेको थियो ।

    यस वर्ष भने बजेट कार्यक्रममै खसी तथा च्याङ्ग्रा बिक्रीको योजना नराखिएकाले दसैंमा खाद्यका बिक्री केन्द्रबाट ती वस्तु उपलब्ध हुने छैनन् ।

    खसीबोका बिक्रीबाट पछि हटे पनि खाद्यले दसैं लक्षित सुपथ पसलमार्फत चिनी तथा अन्य खाद्यान्न भने सहुलियत मूल्यमा बिक्री गरिरहेको छ ।

    कम्पनीले देशभरका ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन गरेका सुपथ पसलबाट उपभोक्तालाई चिनी, दाल, चामल, खाने तेललगायत खाद्यान्नमा छुट दिइरहेको जनाएको छ ।

    काठमाडौं उपत्यकाका सुपथ पसलमा चिनी प्रतिकिलो १०९ रुपैयाँमा बिक्री भइरहेको छ भने उपत्यकाबाहिर ११० रुपैयाँमा उपलब्ध गराइएको सूचना अधिकारी मिश्रले बताए ।

    बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो १२५ देखि १३० रुपैयाँसम्म रहेको अवस्थामा खाद्यले उपभोक्तालाई तुलनात्मक रूपमा सस्तोमा चिनी उपलब्ध गराइरहेको हो ।

    यसअघि सुपथ पसलबाट एक ग्राहकले बढीमा ६ किलो चिनी मात्रै किन्न पाउने व्यवस्था रहेकामा बिहीबारदेखि सीमा बढाएर २५ किलो पुर्‍याइएको छ । बजारमा चिनीको उपलब्धता सहज बनेकाले खरिद सीमा बढाइएको कम्पनीले जनाएको छ ।

    खाद्यका सुपथ पसलमा दाल, चामल, खाने तेललगायत खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिइएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा सुपथ पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    कम्पनीका अनुसार उक्त बजेटमध्ये हालसम्म ६४ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट उपलब्ध रहेसम्म सुपथ पसल सञ्चालनमा राख्ने कम्पनीको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images